१२ औँ राष्ट्रिय जनगणना अन्तर्गत घरपरिवारको सूचीकरण सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१२ औँ राष्ट्रिय जनगणना अन्तर्गत घरपरिवारको सूचीकरण सुरु


३० भाद्र २०७८, बुधबार


काठमाडौँ । आजबाट १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत आज (बुधबार) बाट घर तथा घरपरिवारको सूचीकरण सुरुआत भएको हो ।

भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर(घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने केन्द्रीय तथ्याङ्क विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंले जानकारी दिए ।

सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्ख्यासमेत विवरण भरिनेछ ।

गत २७ र २८ भदौमा तालिम पाएका ८ हजार ५ सय सुपरिवेक्षकहरुलाई सूचीकरणमा खटाइएको छ । सूचीकरणकै आधारमा मूल गणना गरिन्छ ।

असोज १८ पछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइने छ । गणकहरुको तालिमपछि मूल जनगणना कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुनेछ । मूल जनगणनामा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने र विवरण भर्ने काम गर्नेछन् ।

यसअघि १६ वैशाखमा सुपरिवेक्षक तालिम सुरु गर्ने, २६ गतेदेखि घरपरिवार सूचीकरण गर्ने, १७ जेठबाट गणकलाई तालिम दिने, २५ जेठबाट मूल गणना कार्य थाल्ने कार्यतालिका थियो । तर, कोरोना महामारीका कारण सो कार्यतालिकाअनुसारको काम स्थगित गरिएको थियो ।

यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ ।

नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ । यद्यपि, पाँचौँ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि सम्पन्न भएको थियो ।

२००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसङ्ख्या २ करोड ६५ लाख छ । हाल जनसङ्ख्या बढेर ३ करोड ४६ हजार पुगेको तथ्याङ्क विभागको अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस