कर्णालीमा खाद्यबाली उत्पादन बढ्यो, तरकारी घट्यो « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कर्णालीमा खाद्यबाली उत्पादन बढ्यो, तरकारी घट्यो


३० भाद्र २०७८, बुधबार


कर्णाली । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ ।

नेपाल राष्ट्र बैङ्कको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ ।

यहाँ धानबाली ३.८१, मकै र कोदो बाली १७.४५ प्रतिशतले उत्पादन बढेको छ भने तरकारी उत्पादन २.२६ प्रतिशतले घटेको देखिएको छ । गत वर्ष सोही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको थियो । तरकारी उत्पादन सबैभन्दा बढी सल्यान र कम उत्पादन हुम्लामा भएको प्रतिवेदनले जनाएको छ । पशुजन्य उत्पादन अण्डा, मासु, माछा उत्पादन बढेको छ भने दुग्धजन्य उत्पादन ०.६९ ले कमी आएको छ । कोरोना महामारीबाट सिर्जित बन्दाबन्दी तथा निषेधाज्ञाका कारण तरकारी र दूधजन्य पदार्थको उत्पादनमा कमी आएको अध्ययनको निष्कर्ष छ ।

नेपाल राष्ट्र बैङ्क कर्णाली प्रदेश कार्यालयका प्रमुख विनय सिग्देलले आर्थिक वर्ष २०७६/७७ को चैतदेखि २०७८/७९ को भदौसम्म कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि अवलम्बन गरिएको पटक–पटकको बन्दाबन्दीले प्रादेशिक अर्थतन्त्रमा सङ्कुचन ल्याएको बताए। राष्ट्र बैङ्कले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको देखिएको छ । यहाँ पर्यटक आवागमनको सङ्ख्या ९४.९६ प्रतिशतले घटेको छ । पर्यटक स्तरीय होटल तथा लजको सङ्ख्या ६.४३ प्रतिशतले घटे पनि होटलका बेड सङ्ख्या भने १२ प्रतिशतले बढेको छ ।

राष्ट्र बैङ्क कर्णाली प्रदेश कार्यालयले गरेको समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेशन र राजस्वमा उल्लेख्य वृद्धि भएको देखिएको छ । रजिष्ट्रेशन सङ्ख्या ५७ प्रतिशत र राजस्व १६२ प्रतिशतले वृद्धि भएको छ । यातायातका साधनको सङ्ख्यामा २.८३ प्रतिशतले कमी र सरकारी सामुदायिक चिकित्सकको सङ्ख्यामा २९.७३ प्रतिशतले वृद्धि भएको छ । सरकारी विद्यालयको सङ्ख्या ०.९४ प्रतिशतले घटेको छ । त्यस्तै बैङ्क तथा वित्तीय संस्थाले औद्योगिक कर्जातर्फ कुल कर्जाको १५.७० र कृषि प्रवाहतर्फ ७.७४ प्रतिशत कर्जा प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशमा सञ्चालनमा आएका साना तथा घरेलु उद्योगको सङ्ख्या १७ हजार ६३ रहेको छ । प्रदेशमा वाणिज्य बैङ्कका १९०, विकास बैङ्कका १७, वित्त कम्पनी चार, लघुवित्त विकास बैङ्क १९५ गरी ४०६ शाखा छन् । तीमध्ये सबैभन्दा बढी सुर्खेतमा १३२ र मुगुमा १० शाखा छन् । प्रदेशमा राजमार्ग र सहायक मार्ग गरी दुई हजार ७२५ किमी सडक सञ्जाल, सात विमानस्थल चालू अवस्थामा र यहाँबाट उत्पादित सात मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस