राष्ट्रियसभाबाट लोक सेवा विधेयक पारित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रियसभाबाट लोक सेवा विधेयक पारित


२८ भाद्र २०७८, सोमबार


काठमाडौँ । राष्ट्रियसभाले लोकसेवा आयोगसम्बन्धी विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले बहुमतका आधारमा यो विधेयक पारित गरेको हो ।

(सदन नै चल्न नदिने भनेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु सुरु देखि नै उभिएर विरोध जनाइरहेका थिए । विधेयक पारितका लागि निर्णयार्थ पेश गर्दा पनि उनीहरु उभि नै रहेका थिए ।)

२०७६ भदौ २५ गते प्रतिनिधिसभामा पेश भएको लोकसेवा आयोग सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट ९ असार २०७७ मा पारित भएको थियो ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा आएको विधेयकलाई राष्ट्रिय सभाले पनि पारित गरेको छ ।

अब यो विधेयक राष्ट्रियसभाबाट पारित भएको संदेशसहित प्रतिनिधिसभामा जान्छ । प्रतिनिधिसभाले पुनः पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेर प्रमाणिकरण भएपछि कानुन बनेर कार्यान्वयनमा जान्छ ।

संघ र प्रदेशमा लोकसेवा आयोग हुने संवैधानिक व्यवस्था छ । पारित विधेयकमा संघ र प्रदेश लोकसेवा आयोगको क्षेत्राधिकार लगायतका विषय समेटिएको छ । यो विधेयक कानुन बनेर कार्यान्वयनमा गएपछि प्रदेश लोकसेवा आयोगले पनि विज्ञापन लगायत कार्य गर्न पाउनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस