तत्कालीन गाविस सचिवसहित ६ जना विरुद्ध मुद्दा दायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तत्कालीन गाविस सचिवसहित ६ जना विरुद्ध मुद्दा दायर


२८ भाद्र २०७८, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रूपमा विभिन्न सेवा सुविधा लिएको अभियोगमा तनहुँको साविक घाँसीकुवा गाविसका तत्कालीन गाविस सचिव रामराज न्यौपानेसहित छ जना विरुद्ध हिजो (आइतबार) विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार दसैँ खर्च परिषद् तयारी खर्च भनी अनाधिकृत सुविधा लिएको, परिषद्को निर्णय बिना नै आर्थिक सहायता दिएको र परामर्शदाता नियुक्तिपछि पहिल्यै देखिको सम्झौता बनाई रकम भुक्तानी गरेको पाइएपछि गाविस सचिव न्यौपाने विरुद्ध रु एक लाख ४७ हजार ३६४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

यस्तै, आयोगले तत्कालीन इन्जिनियर शुकदेव अधिकारी विरुद्ध रु ६३ हजार ७५०, तत्कालीन योजना अधिकृत गणेश घिमिरे विरुद्ध रु ६३ हजार ७५०, तत्कालीन इन्जिनियर तीर्थराज ढुङ्गाना विरुद्ध रु ७२ हजार २५० बराबरको बिगो दाबी गरिएको छ । यस्तै, लेखा परीक्षक नरहरि पण्डित र श्रीभद्र खनाललाई भने कानुनअनुसार कारबाहीको माग गरिएको छ ।

यस्तै आयोगले नदीजन्य पदार्थको उत्खनन तथा निकासीको ठेक्कामा राजश्व छली गरेको अभियोगमा नवलपरासी (बर्दघाट पश्चिम) मा कार्यरत एसआरडी कन्ट्रक्सन प्रोपाइटरहरू रमेश पराजुली र सन्दीप केसी विरुद्ध रु ७५ लाख ८० हजार ६४९ बराबरको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । उनीहरूले फर्जी बिल प्रयोग गरी राजश्व छली गरेको पाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस