साताको शेयर बजारः ३५ अर्ब २० करोडको कारोबार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

साताको शेयर बजारः ३५ अर्ब २० करोडको कारोबार


२६ भाद्र २०७८, शनिबार


काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो ।

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए । यस साता पाँच दिन नै शेयर कारोबार भयो । नेप्सेमा उतारचढाव देखिँदा कारोबार रकमसमेत असाध्यै कम हुन पुग्यो ।

झन्डै रु २२ अर्ब बराबरको कारोबार हुने बजार रु छ अर्ब ६४ करोडको हाराहारीमा सीमित भएको छ । साताको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो । साताको पहिलो दिन नै कारोबार सुरु भएपछि लगत्तै ओरालो लाग्न थालेको नेप्से बजार बन्द हुने क्रमसम्म पनि ओरालो यात्रामा नै रह्यो ।

त्यस दिन कारोबार सुरु भएको एक घण्टामा नै झन्डै १०० अङ्कले ओरालो लागेको नेप्से पाँच प्रतिशतभन्दा बढीले घट्दा करिब ४० मिनेटसम्म बजार नै बन्द भएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से १०८.२६ ओरालो लागेर दुई हजार ८१८.७२ विन्दुमा ओर्लिएको थियो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.७६ विन्दुले घटेर ५२२.०१ मा ओर्लियो । कुल दुई सय २३ कम्पनीको दुई करोड ३० लाख ७९ हजार आठ सय ३२ कित्ता शेयर रु ११ अर्ब २४ करोड तीन लाख ९१ हजार ४५ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४४ अर्ब ९५ करोड ३९ लाख १० हजार बराबर पुग्यो ।

कारोबार भएका कुल १३ उपसमूहको शेयर नै ओरालो लागे । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्षस्थानमा रही रु ७० करोड ३३ लाख ३० हजार दुई सय आठ बराबरको हिसाब देखियो । त्यस दिन झन्डै डेढ दर्जन कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । साताको दोस्रो दिन सोमबार आइतबारको ठीक विपरीत नेप्सेमा उछाल देखियो । कुल ४५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से सोमबार ‘बाउन्स ब्याक’ भयो । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका सम्बन्धमा देखिएको अन्योलतामा समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेको समाचार सार्वजनिक भएपछि बजारले पुनः गति समातेको थियो ।

त्यस दिन नेप्से १६१.९४ विन्दुले उकालो लागेर दुई हजार ९८०.७८ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३१.४१ विन्दुले उकालो लागेर ५५३.४० मा पुग्यो । कुल दुई सय २४ कम्पनीको एक करोड ७९ लाख २२ हजार पाँच सय ८८ कित्ता शेयर एक लाख नौ हजार एक सय ८२ पटक कारोबार भयो । नेप्सेका अनुसार कुल रु नौ अर्ब ८२ करोड ६२ लाख २२ हजार आठ सय सात मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कुल १३ उपसमूहको शेयर उकालो लाग्यो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ७१ अर्ब ५८ करोड ८० लाख ८२ हजार एक सय एक मूल्यमा खरिद–बिक्री भए ।

साताको तेस्रो दिन मङ्गलबार नेप्से परिसूचक पनि उच्च अङ्कले ओरालो लाग्यो । त्यस दिन नेप्सेमा ४४.१८ विन्दुले ओरालो लागेर दुई हजार ९३६.६० मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०५ विन्दुले घटेर ५४८.३५ मा ओर्लियो । कुल दुई सय २२ कम्पनीको एक करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ८६ हजार पाँच सय आठ पटक शेयर कारोबार भए । नेप्सेका अनुसार कुल रु सात अर्ब ४९ करोड ५८ लाख १२ हजार एक सय ६१ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्यो । नेप्सेका अनुसार कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ६१ करोड ९२ लाख ९१ हजार ६ सय ९२ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार सानिमा लाइफ इन्सुरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

साताको चौथो दिन बुधबार नेप्से परिसूचक पनि उच्च अङ्कले घट्यो । त्यस दिन नेप्से ६०.०२ अङ्कले ओरालो लागेर दुई हजार ८७६.५९ मा ओर्लियो । त्यस दिन ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९१ विन्दुले ओरालो लागेर ५३६.५१ मा पुग्यो । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि बुधबार घट्यो । कुल दुई सय २५ कम्पनीको एक करोड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता शेयर रु छ अर्ब ६४ करोड ६६ लाख २३ हजार चार सय २७ मूल्यमा खरिद–बिक्री भए । कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्षस्थानमा रह्यो ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अङ्कले ओरालो लाग्यो । नेप्से ०.६२ अङ्कले ओरालो लागेर दुई हजार ८७५.९७ मा ओर्लियो । त्यस दिन ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.५३ अङ्कले ओरालो लागेर ५३५.२९ मा ओर्लियो । कुल दुई सय ३० कम्पनीको एक करोड ४४ हजार ७४ हजार आठ सय ५५ कित्ता शेयर रु सात अर्ब पाँच करोड सात लाख ७० हजार ७० मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्यो भने नौ उपसमूहको शेयर ओरालो लाग्यो । साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब २४ अर्ब ९३ करोड ३८ लाख ६१ हजार एक सय ७३ बराबर पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस