वाग्मती प्रदेश प्रमुख समक्ष प्रतिवेदन बुझाइयो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वाग्मती प्रदेश प्रमुख समक्ष प्रतिवेदन बुझाइयो


२५ भाद्र २०७८, शुक्रबार


वाग्मती । वाग्मती प्रदेशका मुख्यन्यायाधिवक्ता ओम प्रकाश थपलियाले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आज वार्षिक प्रतिवेदन बुझाएका छन् । गत आव २०७७/७८ मा मुख्य न्यायाधिवक्ता कार्यालयले गरेका कामको विवरण समेटिएको प्रतिवेदन प्रदेश प्रमुख शर्मा समक्ष पेश भएको हो ।

सो कार्यालयले वर्षभरिमा सवैधानिक एवम् कानूनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकारवादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा प्रतिरक्षा गरीएको संक्षिप्त विवरण, मुद्दा मामिलामा गरिनु पर्ने सुधारको विषयमा उल्लेख गरिएको छ ।

गत आव २०७७/७८मा सर्वोच्च अदालतमा ६१, उच्च अदालत पाटनमा नौ, सिन्धुली जिल्ला अदालतमा एक, चितवन जिल्ला अदालतमा एक, प्रशासकीय अदालत काठमाडौँमा दुई गरी जम्मा ७४ मुद्दा रहेका छन् । मुद्दामा सफलताको स्थिति ७४ प्रतिशत रहेको थपलियाले बताए ।

कार्यालयमा विभिन्न मन्त्रालय तथा कार्यालयबाट सातवटा कानूनी राय तथा सुझाव माग गरिएकोमा सोको जवाफ लेखी पठाइएको थियो । उक्त प्रतिवेदन प्रदेशसभा समक्ष पेश गर्नका लागि प्रदेश प्रमुख शर्माले आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हस्तान्तरण गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस