तीज : महिलाहरूको श्रद्धा, आस्था र इमोशनको सम्मिश्रण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तीज : महिलाहरूको श्रद्धा, आस्था र इमोशनको सम्मिश्रण


२४ भाद्र २०७८, बिहिबार


सामान्यतया तीज भन्ने बित्तिकै महिलाहरू अर्थात् दिदिबहिनिहरू, आमा तथा छोरीहरू भेला भई मिठो मसिनो खाई एक आपसमा आफ्ना सुख दुःख साट्ने माध्यमको रूपमा परापूर्वदेखि चलिआएको ऐतिहासिक र नारीहरूको महान् चाडको रूपमा बुझिन्छ । यसको ऐतिहासिक पृष्ठभूमिलाई केलाउँदा हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार बर्त बस्न बसिन्। यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ । आधुनिक समाजमा तीजको महत्त्वलाई जनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो ।

यस पर्वलाई भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइन्छ । जसमा सुरुको दिनमा महिला दिदिवहिनीहरू लगायत आफन्तहरू भेला भई दर खाने तथा नाचगान गरी रमाइलो गर्ने गरिन्छ र त्यसको भोलिपल्ट श्रीमानको लामो, दीर्घायु आयु र स्वस्थ जीवनको लागि निराहार व्रत बस्ने प्रचलन छ । विगतमा महिलाहरू(विवाहित÷अविवाहित) मात्र व्रत बस्ने प्रचलन रहेकोमा समाज परिष्कृत र सोचाइमा विकास हुँदै गर्दा पुरुषहरू समेत आफ्नो श्रीमतीको लागि निराहार व्रत बसी भगवानसँग वरदान माग्ने प्रचलन बढ्दै गइरहेको छ । जसले पूर्ण समाज हुनका लागि महिला पुरुषको समान अस्तित्व हुनुपर्छ भन्ने कुराको बोध दिनानुदिन बढ्दै गइरहेको छ ।

हिजोका दिनमा हाम्रो आमा हजुरआमाका पालामा तीजको आफ्नै मौलिकता र महत्त्व थियो तर आज समाज आधुकनिकरणमा प्रवेश गर्दै गर्दा अथवा भनौँ प्रविधिले फड्को मार्दै गर्दा समाजमा संस्कृतिको नाममा विकृति फैलिँदै जाने सम्भावना बढ्दो छ । चाहे त्यो गीत सङ्गीतमा नै किन नहोस् । तीजको १ दिन अगाडिको दर कार्यक्रम लाखौँ खर्च गरी महँगो बनाइँदै छ, महिनौँ दिन दरको नाम दिइएर । शालीन र सभ्य संस्कृतिलाई भड्किलो र अशोभनीय बनाउँदै छौँ जसले भोलिका हाम्रा सन्तानलाई के सिकाउँदै छौँ त ? भन्ने सम्मको सोचको हामीले परिकल्पना गरेकै छैनौँ जबकि त्यो संस्कारमा उनीहरूको इच्छाविपरित टिकटक, इन्स्टा, फेसबुक अथवा युटुव को नाममा स्टार र पपुलारिटी हुने लोभमा कोमल मस्तिष्कलाई प्रयोग गरिरहेका छौँ । यसले हाम्रो संस्कृति, परम्परा, इतिहास र प्रचलनलाई कता धकेल्दै छ ? अबको गम्भीर र सोचनीय प्रश्न बन्दै गइरहेको छ ।

तीज महिला विशेष कार्यक्रम÷चाड हो । विगतमा अधिकांश महिलाहरू स्वतन्त्र नहुँदा चुलो चौका, मेलापात र खेतबारीमा सीमित रही आफ्नो मनको कुरा खुलेर परिवारसँग राख्ने समेतको वातावरण नहुँदा वर्षमा १ दिन आफ्नो मन मिल्ने दिदिबहिनिहरू जम्मा भई नयाँ लुगा लगाई गीतलाई माध्यम बनाई मनको बह पोख्ने एउटा महत्त्वपूर्ण पर्वको रूपमा रहेको भन्ने कुराहरू हामी हाम्रा आमा हजुरआमाहरूबाट सुन्दै आई रहेका छौ। तर वर्तमान समयमा यस किसिमको वातावरणमा केही फरकपना अर्थात् विकास हुँदै आइरहेको छ । हिजोका दिनमा छोरी भन्ने बित्तिकै नाक खुम्च्याउन समाज आज केही परिवर्तन भई खुसीसाथ महिलाको अस्तित्वलाई स्विकार्दै गइरहेको अवस्था छ । तर हामीले लेख्ने गीत र बर्नाइने कथामा महिलालाई सधैँ कमजोर पात्रको रूपमा देखाइनु पक्कै पनि त्यो उपर्युक्त होइन ।

विभिन्न टेलिसिरियलहरूमा आज पनि महिलालाई एउटा कमजोर पात्रको रूपमा चित्रण गरिएको छ । जहाँ महिला नयाँ लुगा र गहना लगाउन पाएपछि हुरुक्क भई फुरुङ्ग नाच्दै सबै गाउँतिर देखाउँदै हिँडेको देखिन्छ । हरेक एपिसोडमा महिला भन्ने बित्तिकै झगडा गर्ने, अर्काको डाह, ईर्ष्या, र लोभ गरेको र पटक पटक चरित्रमा नै समस्या देखाइन्छ । कथाले सधैँ दुई पक्षलाई समेट्नुपर्दछ पहिलो कमजोरी जुन हाम्रो टेलिसिरियलहरूमा हामीले छ्यापछ्याप्ती देख्न सक्छौ अर्थात् माथि उल्लिखित कुराहरू र दोस्रो सबल पक्ष जुन विभिन्न चुनौतीको सामना गर्दै सबल बन्न सकिने सम्भावना सहितका दृश्यहरू जसले समाजमा कमजोर बनाइएका महिलाहरूका लागि उत्प्रेरणा बनोस्, गन्तव्य सम्म पुग्न सकिने जटिलतालाई पनि सहजताको बाटो देखाओस् ।

मुलुक आज पनि पितृसत्तात्मक सोचबाट माथि उक्लिन सकेको छैन । कुनै महत्त्वपूर्ण पदको लागि योग्य, सक्षम हुँदाहुँदै पनि त्यहाँ महिला भएकै कारण उसले अवसर पाउँदैन । उ भन्दा कमजोर र जुनिरलाई पुरूष भएकै कारण सक्षम ठानी पद हस्तान्तरण गरिन्छ । महिला भन्ने बित्तिकै पहिला हेपाहा र कमजोर दृष्टिले हेर्न हाम्रा आँखाको धमिल्याईपना अझै पनि हट्न सकेको छैन ।

समाजले पूर्णतः महिलाको नेतृत्व र अस्तित्वलाई स्विकार्न नसकेको अवस्थामा हामी महिलाहरू आज पनि आफू भन्दा धेरै पढेको, धन सम्पत्ति वाला लगायतका आफूलाई कमजोर बनाई चिच्याई चिच्याई तीजका गीतका नाममा छमछम नाचिरहेका छौँ । गीतबाटै एउटा साडी र गहनाको लागि श्रीमानसँग झगडा गर्दै छौँ । जसबाट हाम्रा अबोध छोरीहरूले के सिक्छन् । तिनै गीतहरू ३ वर्षको छोरीले दोहोर्‍याइँदा मनमा कता कता चिसो पस्दो रहेछ । जसले पिडा बोध गराउँछ र समाजको गलत तस्बिर अगाडि झल्किन्छ ।

चाड पर्व भनेका समाजका ऐना हुन जसले हामीलाई एक अर्कासँग माया, ममता, स्नेह, सम्मान र आत्मीयता बढाउने उद्देश्यले परापुर्वकालदेखि निरन्तर चलिआएका छन् । हिजोका दिनमा केही सिमित विषय यीनका माध्यम थिए होला तर आज विश्व विज्ञान प्रविधिको तीव्र विकाससँगै यसको अवलम्बनमा केही परिमार्जन हुनु स्वाभाविकै हो तर यसको मर्म र मौलिकतालाई नै असर पर्ने गरी यसको औचित्यतामा नै प्रश्न उठ्नु पक्कै पनि राम्रो होइन । तसर्थ, तीज हिन्दु नेपाली नारीहरूको महान् चाड हो । जसको माध्यमबाट देश विदेशमा छरिएर रहनुभएका आमादिदिबहिनीहरू एक आपसमा जुटी रमाइलो गर्नुले साँच्चीकै हामीलाई नजिक्याएको छ साथै माया, ममता ,स्नेह र आत्मीयता समेत बढाएको छ ।

त्यसैले हुनेले अस्वाभाविक, भद्दा प्रस्तुति र खर्च नगरी नहुने तथा कमजोर आर्थिक अवस्था हुनेले क्षमता अनुसारको जोहो गरी कोही कसैसँग गलत प्रतिस्पर्धा नगरी स्वच्छ र शालीन भई पर्व मनाउन तर्फ केन्द्रित रहौँ । यो पर्व हामी महिलाहरूको आस्था, श्रद्धा र भावनासँग जोडिएकोले पनि यो महान् चाडलाई आफूलाई सक्षम, योग्य र नेतृत्वदायी बनाउन सकिने कथा, गीत सङ्गीतहरू रचना गरी सबै नारीहरूलाई उत्प्रेरणा हुने खालका कार्यक्रम तर्फ सबै अग्रसर हौ अनि जुटौँ ।

सबैमा हरितालिका तीजको शुभकामना ।

Tags :
प्रतिक्रिया दिनुहोस