एमाले फुटेको होइन चोइटिएको हो : अध्यक्ष ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमाले फुटेको होइन चोइटिएको हो : अध्यक्ष ओली


२३ भाद्र २०७८, बुधबार


गण्डकी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताएका छन्।

नेकपा एमाले कास्की जिल्ला कमिटीद्वारा हिजो (मंगलबार) पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अवसरवादीहरुले पार्टीलाई कमजोर बनाउन खोजे पनि पार्टी सङ्गठन बलियो भएर अघि बढ्ने बताए ।

निरन्तर मुलुक र जनताको पक्षमा काम गर्दै आएको एमालेले आगामी निर्वाचनमा एक्लै लडेर स्पष्ट बहुमत ल्याउने विश्वास व्यक्त गर्दै उनले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई अघि बढाउन भ्रम र अलमलमा नपर्न कार्यकर्तालाई अनुरोध गरे।

कास्कीमा जस्तै नेकपा एमालेको सङ्गठनलाई देशव्यापी एकताबद्ध बनाउनुपर्ने बताउँदै उनले जनताका हर समस्यामा सहयोग गर्ने गरी पार्टीको समाजसेवी दस्ता तयार गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार पार्टीको आन्तरिक सहयोग जुटाएर जनताको आवश्यकताअनुसार काम गर्ने दस्ताको मुख्य लक्ष्य रहनेछ ।

पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले आन्तरिक सङ्घर्ष पार्टी फुटाउनका लागि नभई सुदृढीकरणका लागि हुने विश्वास व्यक्त गर्दै कार्यकर्तालाई सङ्गठित भएर पार्टी निर्माणमा जुट्न आग्रह गरे।

कास्की जिल्ला कमिटीका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दामोदर बैरागीलगायतले पार्टीको गतिविधिमाथि प्रकाश पारेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस