मुस्ताङमा पाँच महिनापछि हट्यो निषेधाज्ञा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

मुस्ताङमा पाँच महिनापछि हट्यो निषेधाज्ञा


२२ भाद्र २०७८, मंगलबार


म्याग्दी । मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो ।

अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सरोकारवालाहरुको सुझावअनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले मुक्तिनाथ मन्दिरबाहेक सबै क्षेत्र खुलाउने निर्णय गरेको जानकारी दिए ।

‘मुक्तिनाथ मन्दिरमा प्रवेश खुलाइएको छैन’, उनले भने, ‘मुस्ताङ भित्रिनका लागि विदेशी नागरिकलाई ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।’ जनजीवन सहज र आर्थिक क्षेत्रलाई चलायमान बनाउन स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गरेर निषेधाज्ञा खुलाइएको हो ।

निषेधाज्ञा हटाएपछि पोखरा–जोमसोम हवाई सेवा, लामो तथा छोटो दूरीका यातायात, पर्यटन क्षेत्र, होटल तथा रेष्टुराँ, मेला–महोत्सव, शैक्षिक संस्था र सेवा प्रदायक सङ्घसंस्थाको गतिविधि निर्वाधरूपमा सञ्चालन हुनेछन् । आन्तरिक पर्यटकले अनिवार्य खोप कार्डका साथै ४८ घण्टे एन्टिजेन रिपोर्ट साथमा लिएर आउनु पर्नेछ । जोमसोम विमानस्थल कक्ष, म्याग्दी र मुस्ताङको सीमा नाका घाँसा प्रहरीचौकीमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लाका नागरिकले मुस्ताङ आउजाउ गर्नुपर्दा सम्बन्धित स्थानीय तहको सिफारिस लिनुपर्ने यसअघिको निर्णयलाई परिमार्जन गर्दै नागरिकता अथवा परिचयपत्र देखाए हुने भएको छ । निषेधाज्ञाले मुस्ताङका होटल व्यवसायी सङ्कटमा परेका छन् । निषेधाज्ञा खुकुलो पारिएसँगै अर्थतन्त्र चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । कोरोनाका कारण मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवा–७ सहित मुस्ताङमा १५ जनाले ज्यान गुमाएका छन् ।

पाँच सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मुस्ताङमा ५०८ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमितमध्ये २७ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस