प्रधानसेनापति थापाको अद्यावधिक सम्पत्ति सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानसेनापति थापाको अद्यावधिक सम्पत्ति सार्वजनिक


२२ भाद्र २०७८, मंगलबार


काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

लमजुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८–३–२ जग्गा पैतृक तथा बुढानीलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६।५२ वर्ग मिटर जग्गा रहेको छ ।

उनको लमजुङ बेँसीशहर–२ मा अंशवण्डावापत प्राप्त १२–०–२–२ क्षेत्रफल जग्गा, काठमाडौँ महानगरपालिका–२६ मा श्रीमतीलाई माइतीबाट प्राप्त दाइजो ०–२–०–२ जग्गा, पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–२ मा श्रीमती र आफ्नो संयुक्त नाममा शान्ति सेनाका कमाई आदिबाट खरिद गरिएको ४१६४.५७ वर्ग मिटर जग्गा तथा छोरी रुरु थापाको नाममा बेँसीशहर नपा–२ पैतृक १–०–१–३ क्षेत्रफल जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । बुढानीलकण्ठमा रहेको जग्गामध्ये करिब ७०० वर्ग मिटर जग्गा बिक्री प्रक्रियामा रहेको जानकारी दिइएको छ ।

महारथी थापा दम्पतीसँग पैतृक, खरिद र बुहारीबाट प्राप्तसमेत ६१ तोला सुन, ६८० तोला चाँदी र रु १४ लाखमा खरिद गरिएकोसमेत औँठीसहित हीरा हार छ ।

उनीहरूसँग घरभाडा, शान्ति सेना र सरकारी तलब भत्तासमेत गरी मेगा बैङ्कमा रु एक लाख ३५ हजार ७७२, ग्लोबल आइएमई बैङ्कमा रु ९९ हजार ३३, नेपाल इन्भेष्टमेन्ट बैङ्कमा रु २० लाख २२ हजार ३८१ र अमेरिकी डलर छ हजार ७० रहेको छ ।

प्रधानसेनापति थापा र दीपासँग तलब भत्ता र विविध आयबाट खरिद गरिएको विभिन्न बैङ्क र हाइड्रोका समेत गरी १४ वटा कम्पनीका करिब रु ४६ लाख मूल्य बराबरका २० हजार ४४१ सेयर रहेको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

उनीहरूले नेपाल बैङ्कबाट रु एक करोड ९० लाख ऋण लिएको तथा छोरा रौनकले लक्ष्मी बैङ्कबाट अटोलोन रु ३० लाख ऋण लिएकामा रु १२ लाख २४ हजार तिर्न बाँकी रहेको देखाइएको छ । श्रीमती दीपाको रु २० लाख र छोरा रौनकको रु ५१ लाख मूल्यमा खरिद गरिएका एक–एक थान सवारी साधन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रधानसेनापति थापाको अवकाशपछि कर्मचारी सञ्चयकोषबाट रु ३५ लाख ३७ हजार ६२८, नागरिक लगानी कोषबाट रु १४ लाख ६६ हजार ३१३, सञ्चित बिदा र औषधोपचारबापत प्राप्त हुने सञ्चित मौज्दात रु २५ लाख ९० हजार ७३२ तथा आवास र बिमाबापत रु चार लाख ९७ हजार २७४ बचत मौज्दात अवकाश हुने मितिका हिसाबले प्राप्त हुने जानकारी दिइएको छ ।

उनले सेनाको नेतृत्व सम्हाले लगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। महारथी थापा नै सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो सैनिक हुन् ।

तीन वर्षे प्रधानसेनापतिको कार्यकालसहित ४१ वर्ष आठ महिना २२ दिनको सैनिक जीवन व्यतीत गरी आगामी बिहीबार सेवा निवृत्त हुँदै गर्दा उनले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस