सर्तसहित थप शेयर धितो कर्जा लिन पाइने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सर्तसहित थप शेयर धितो कर्जा लिन पाइने


२२ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सर्तसहित शेयर धितो कर्जा रु १२ करोडभन्दा माथि पनि लिन पाउने व्यवस्था गरेको छ ।

केन्द्रीय बैङ्कले हिजो (सोमबार) साँझ जारी गरेको सूचना अनुसार उद्यमी व्यवसायीले उद्योग व्यवसायका लागि अन्य धितोसँगै शेयरसमेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाइने व्यवस्था गरिएको जनाएको हो ।

बैङ्क तथा वित्तीय संस्थाले व्यावसायिक प्रयोजनका लागि प्रवाह भएको कर्जाका लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोका रूपमा शेयर धितो राख्न सक्ने केन्द्रीय बैङ्कको भनाइ छ । राष्ट्र बैङ्कले बारम्बार सोधिने प्रश्नहरू शीर्षक राखेर सो बारेमा स्पष्ट पार्न खोजेको छ ।

अन्य संस्थाको शेयर खरिद गर्ने प्रयोजनदेखि बाहेकका व्यावसायिक प्रयोजनका लागि शेयर धितो राखी कर्जा प्रवाह हुन सक्नेछ । त्यसमा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमाका रूपमा रहेको एउटा इजाजतप्राप्त संस्थाबाट अधिकतम रु चार करोड र सबै इजाजत प्राप्त संस्थाबाट अधिकतम रु १२ करोडको सीमा लागू नहुने केन्द्रीय बैङ्कको भनाइ छ ।

शेयर लगानीकर्ता समूहले मार्जिन प्रकृतिको कर्जामा राष्ट्र बैङ्कले सीमा तोकेको भन्दै गुनासो गर्दै आएका छन् । राष्ट्र बैङ्कले भने मार्जिन प्रकृतिको कर्जामा केही समस्या देखिएको भन्दै सीमा तोकेको जनाउँदै आएको छ ।

यही विषयमा अस्पष्टता हुँदा पछिल्ला केही दिनदेखि शेयर बजारसमेत प्रभावित हुँदै आएको थियो । आइतबार उच्च अङ्कले नेप्सेमा गिरावट आएको थियो । पुनः सोमबार भने बजार सम्हालियो र नेप्से ‘बाउन्स ब्याक’ भयो । लगानीकर्ता समूहले आज असन्तुष्टि जनाएका थिए । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीलाई फोन गरेर बजारमा देखिएको समस्याका बारेमा चासो राखेका थिए । सोही चासोको समाचार सार्वजनिक भएपछि आज नेप्सेमा १६२ अङ्कको वृद्धि भयो ।

Tags :
प्रतिक्रिया दिनुहोस