यौनिक तथा लैङ्गिक समस्या समाधान गर्न पहल गर्ने आश्वासन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यौनिक तथा लैङ्गिक समस्या समाधान गर्न पहल गर्ने आश्वासन


२१ भाद्र २०७८, सोमबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासङ्घ नेपाल र निलहीरा समाजका प्रतिनिधिसँग मन्त्रालयमा आज भएको छलफलमा उनले सो कुरा बताए ।

मन्त्रीसँगको भेटमा आफूहरूका माग राखेको र मन्त्रीले समस्याको समाधान गर्न पहल गर्ने बताएको निलहीरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले बताए । टोलीले गृहमन्त्रीसँग तेस्रो लिङ्गीलाई नागरिकता पाउन समस्या भइरहेकाले सहज बनाइदिन आग्रह गरेको थियो ।

त्यस्तै वैवाहिक समानता दिने विषयमा सरकारले समिति बनाएर तयार भएको प्रतिवेदन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा थन्किएकाले त्यसलाई अगाडि बढाउन प्रतिनिधिले आग्रह गरेका थिए ।

अल्पसङ्ख्यकको परिभाषामा यौनिक तथा लैङ्गिक अल्यसङ्ख्यकलाई नसमेटिएको जनाउँदै उनीहरुले मन्त्रीको ध्यानाकर्षण गराएका थिए । त्यस्तै आफूहरूले जनगणनाका सन्दर्भमा आगामी आइतबार र सोमबार जिल्ला–जिल्लामा कार्यक्रम गर्न लागेको अवगत गराउँदै त्यसमा जिल्ला प्रशासन कार्यालयलाई समन्वयका लागि आग्रह गरेको कार्यकारी निर्देशक ढकालले जानकारी दिए । मन्त्री खाँणले टोलीको मागमा अवस्था के हो बुझेर समस्या समाधानका लागि पहल गर्ने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस