भदौ २२ मा राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

भदौ २२ मा राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने


२० भाद्र २०७८, आइतबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध भदौ २२ गते देशव्यापी सांकेतिक विरोध प्रदर्शन गर्ने भएको छ । एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग भएको भन्दै जनमोर्चाले यसलाई कुनै हालतमा अनुमोदन गर्न नहुने बताइएको छ ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन सरकारले न्यूनतम कार्यक्रममा एमसीसी समावेश नगरेको भए पनि केही दिनयताका गतिविधिले एमसीसीलाई पारित गराउन चलखेल हुन थालेको बताएका हुन् ।

‘एमसीसी वा यस्तै गम्भीर प्रकृतिका र विवादास्पद विषयहरु सरकारले यो अवधिमा नउठाउने एक प्रकारको भद्र सहमति हो । तर केही दिनयता राष्ट्रिय जनमोर्चा बाहेकका गठबन्धनका दलहरुबीच एमसीसीबारे छलफल भएको, एमसीसीको विज्ञापन प्रसारण भएको, एमसीए अमेरिकाका उपाध्यक्ष चाँडै नेपाल आउने, अमेरिकाले एमसीसीलाई संसदबाट पारित गराउन दिएको दबाब र चर्चाले एमसीसीलाई पारित गर्न चलखेल भएको सहज रुपमा अनुमान गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय जनमोर्चाले एमसीएका उपाध्यक्षको आगमन, नेपाललाई एमसीसी पारित गर्न दिएको दबाबका विरुद्ध र गठबन्धन सरकारलाई सचेत पार्न मंगलबार सांकेतिक रुपमा देशव्यापी विरोधका कार्यक्रम गर्ने निर्णय गरेको जनाएको छ ।

उक्त दिन ७७ वटै जिल्लामा विरोध सभा, जुलुस, कोणसभा, अन्तरक्रिया, गोष्ठी लगायत विरोध कार्यक्रम गर्ने जनमोर्चाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस