भासिएकै सडकमा कालोपत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भासिएकै सडकमा कालोपत्र


२० भाद्र २०७८, आइतबार


तम्घास । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडक भासिएको छ । कालोपत्रे सडकमा लगाएको पर्खालसहित सडक भत्किएको छ । अहिले एकतर्फी रूपमा सवारी साधन आवतजावत गरिरहेका छन् ।

सडकको अन्य भाग पनि चर्किएकाले थप पहिरो जान सक्ने जोखिम रहेको बताइएको छ । सडक भासिएर पहिरो जाँदा नजिकैका दुई घरसमेत जोखिममा परेका छन् । स्थानीय नेत्र कुँवर र नर्मदा कुँवरको घर जोखिममा परेको वडाध्यक्ष विजय मरासिनीले जानकारी दिए । जोखिममा परेका परिवारलाई तत्काल अन्यत्र आवश्यक रहेको उनले बताए।

गत वर्ष सोही स्थानमा थोरै मात्रामा सडक भासिएको थियो । यसैमाथि थप कालोपत्र गरेर टालिएको थियो । अहिले उक्त ठाउँमा पहिरो गएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घासबाट सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्र गरिएको छ । सडकका अन्य स्थानमा पनि पहिरो जाँदा नागरिक हैरान भएका छन् ।

उक्त सडकबाट गुल्मीको क्षेत्र नं २ का अधिकांश ठाउँ र छिमेकी जिल्ला बागलुङसम्मका सवारी साधन सञ्चालन हुने गर्दछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस