चोरीमा संलग्न चार जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चोरीमा संलग्न चार जना पक्राउ


१९ भाद्र २०७८, शनिबार


पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न घटनामा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । मोटरसाइकल र मोबाइल पसलबाट सामान चोरी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

चोरीका पाँच थान मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३१ वर्षीय रोदित श्रेष्ठ र श्रेष्ठको मोटरसाइकल वर्कशपमा काम गर्ने कलैया उपमानगरपालिका–६ का ३५ वर्षीय कृष्ण साह रहेका छन् ।

कार्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीका अनुसार बुलेट मोटरसाइकल दुई थान, पल्सर २२० सिसिको दुई थान, पल्सर एनएस एक थान बरामद गरिएको हो ।

यस्तै दुई थान मोटरसाइकलको भाइजर, मोटरसाइकल चोरी तथा खोल्न प्रयोग गरिने विभिन्न सामग्री मोटरसाइकलका विभिन्न किसिमका पाटपुर्जा, पुराना सामान झिकिएका मोटरसाइकल, सवारी दर्ता प्रमाणपत्र ४५ थान र विभिन्न जिल्लाका नागरिकता प्रमाणपत्रको खाली कार्ड १८ थान बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

चोरीका मोटरसाइकलमध्ये चार वटा काठमाडौँका विभिन्न ठाउँबाट हराएको अनुसन्धानबाट खुल्न आएको अधिकारीले बताए । निज श्रेष्ठ यसअघि पनि यही अभियोगमा पक्राउ परेका थिए । उनीहरुलाई मुलुकी अपराध संहित २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिम तीन वर्ष कैद र ३० हजार जरिवाना हुने उनले जानकारी दिउ । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस