हतियार चोरीको मुद्दाका २ सैनिक निर्दोष ठहर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हतियार चोरीको मुद्दाका २ सैनिक निर्दोष ठहर


१८ भाद्र २०७८, शुक्रबार


नेपाली सेना

काठमाडौँ । हतियार चोरी गरेको अभियोगमा जेल सजाय सुनाइएका २ सैनिक निर्दोष ठहर भएसँगै रिहा भएका छन् । पुनरावेदन निवेदनमा फैसला सुनाउँदै सैनिक विशेष अदालतले अमलदार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ निर्दोष रहेको ठहर गरेको हो।

निर्दोष ठहर गरिए पनि दुवै जनालाई ३ वर्षका लागि पदोन्नति(बढुवा) भने रोक्का हुने फैसला सुनाइएको छ। दुवै जनाको हकमा २०७५ चैत १८ गतेबाट गणना हुने गरी ३ वर्षका लागि पदोन्नति रोक्का हुने र साबिककै दर्जामा सैनिक सेवामा पुनर्बहाली गर्ने गरी बिहीबार फैसला भएको सैनिक जनसम्पर्क तथा सूचना निर्दशनालयले जानकारी दिएको छ।

यसअघि उनीहरूलाई हतियार चोरी गरेको आरोपमा सैनिक अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। सैनिक अदालतले २ वर्ष अगाडि सुनाएको फैसलाविरुद्ध २०७६ जेठमै उनीहरूले सैनिक विशेष अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए।

तर, लामो अवधिसम्म पनि उनीहरूको पुनरावेदन निवेदनमाथि सुनुवाइ हुन सकेको थिएन। अलम्दार गुरुङ र सिपाही तामाङले चोरी गरेको भनिएको सर्ट मेसिन गन(एसएमजी) गत साउनमा चितवनमा मृत फेला परेका सैनिक जवान भरत गुरुङको हत्यामा प्रयोग भएको पाइएपछि उनीहरू निर्दोष रहेको सतहमा आएको थियो।

सेनाको महेन्द्र दल गणमा कार्यरत हुद्दा भरत गुरुङको गत साउन ७ गते चितवनको भरतपुर महानगरपालिका–१७ शारदानगरस्थित सिमल डाँडामा गोली लागेको अवस्थामा शव फेला परेको थियो।

भरत गुरुङको हत्या प्रकरणमा सेनाकै जवान गंगाधर ढकाललाई प्रहरीले पक्राउ गरेको थियो। २ वर्षदेखि जेल जीवन बिताई रहेका गुरुङ र तामाङले चोरी गरेको भनेको एसएमजी भरत गुरुङको हत्यामा प्रयोग गरेको ढकालले स्वीकारेसँगै छुट्टै समिति बनाएर सेनाले आन्तरिक छानबिन गरेको थियो।

सेनाको छानबिनसँगै गुरुङ र तामाङको पक्षबाट दर्ता गरिएको पुनरावेदन निवेदनमाथि सुनुवाइका क्रममा सैनिक विशेष अदालतले बिहीबार उनीहरूलाई निर्दोष साबित गर्दै जेल मुक्त गर्ने र साबिककै पदमा पुनर्बहाली हुने फैसला गरेको हो ।

सैनिक अदालतको फैसलापछि उनीहरू शुक्रवार चितवन कारागारबाट रिहा भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस