सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्ध मुद्दाको सुनुवाइ न्यायाधीश खड्काको इजलासमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्ध मुद्दाको सुनुवाइ न्यायाधीश खड्काको इजलासमा


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको आज (शुक्रबार) सुनुवाइ हुँदै छ। आयोगसहित तीन थान मुद्दा न्यायाधीश मीरा खड्काको इजलासमा तोकिएको छ।

एमालेले भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाए पनि सभामुखले संविधानले नदिएको अधिकार प्रयोग गर्दै रोकेर राखेको दाबी रिटमा गरिएको छ।

सभामुख सापकोटाले नयाँ पार्टी दर्ता गरेपछि कारबाही नहुने अवस्थामा पुर्‍याएर गरेको निर्णय कानुन विपरीत रहेको जिकिर रिटमा गरिएको छ। एमालेले सभामुखको उक्त निर्णय बदर गर्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेको छ।

यसै गरी, दोस्रो रिट निवेदनमा पार्टीले कारबाही गरिसकेका १४ सांसदको समेत सनाखत गरी नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ। निर्वाचन आयोगले प्रक्रिया मिचेर धेरै सङ्ख्या पुर्‍याएर नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको एमालेको दाबी छ।

रिटमा नयाँ दिल्लीमा रहेका एमाले नेता झलनाथ खनालको सनाखत हुनै नसक्ने अवस्थामासमेत गैर कानुनी रुपमा स्वीकार गरेको दाबी गरेको छ।

एकीकृत समाजवादी दर्ता गर्दा दिल्लीमा रहेका खनालको समेत वारेस मार्फत् सनाखत गर्नु कानुन विपरीत भएको भन्दै एमालेले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस