जनताको विश्वास जितेर अघि बढ्ने प्रण गर्छु : प्रधानमन्त्री देउवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जनताको विश्वास जितेर अघि बढ्ने प्रण गर्छु : प्रधानमन्त्री देउवा


१८ भाद्र २०७८, शुक्रबार


नेपाली काँग्रेस

काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण गरेका छन् ।

पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत आज (शुक्रबार) बाट सुरु भएको वडा अधिवेशनको अवसरमा शुभकामना सन्देश दिँदै देउवाले उक्त प्रण गरेका हुन् ।

‘काँग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि काङ्ग्रेसकै काँधमा आएको छ,’ देउवाले भिडियो सन्देशमा भनेका छन्, ‘म तपाईंहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देश मार्फत गर्न चाहन्छु ।’

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो भन्दै देउवाले लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धा मार्फत वडा अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् ।

१४ औँ महाधिवेशन मार्फत सशक्त काँग्रेस बनाउने अभियानमा होमिएको बताउँदै उनले बलियो काङ्ग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव रहेको उल्लेख गरेका छन् । देउवाले भनेका छन्, ‘बलियो काँग्रेस, समृद्ध देश भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

देउवाले भनेका छन्, ‘पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै, ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो काँग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्‍याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस