ट्राफिक नियम उल्लङ्घनको जरिमाना अब मोबाइलबाटै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ट्राफिक नियम उल्लङ्घनको जरिमाना अब मोबाइलबाटै


१७ भाद्र २०७८, बिहिबार


काठमाडौँ। ट्राफिक नियम उल्लङ्घनकर्ताले अब बैङ्कमा गएर जरिमाना बापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्युआर कोडबाटै जरिमाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो ।

महाशाखाले आज (बिहीबार)देखि औपचारिक रूपमा यो कार्यक्रमको थालनी गर्ने भएको छ । ट्राफिक प्रहरीले यसका लागि क्युआर कोडबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकाससमेत गरेको छ ।

डिउटीमा खटिएका ट्राफिक प्रहरीले अब सवारी नियम उल्लङ्घन गर्ने चालकलाई क्युआर कोड भएको चिट दिनेछ । त्यसपछि नियम उल्लङ्घनकर्ताले सोही क्युआर कोडमार्फत मोबाइलबाटै भुक्तानी गर्न सक्नेछन् ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले यो नयाँ व्यवस्थाले जरिमाना तिर्न बैङ्कमै जानुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले सवारी नियम उल्लङ्घन गरेका चालकले अब क्युआर कोडमार्फत सरकारी राजस्व खातामा रकम जम्मा गर्न सक्ने जानकारी दिएका छन् ।

उनले भने, ‘जरिमाना ठाउँको ठाउँ मोबाइलबाटै भुक्तानी गर्न सकिनेछ ।’ क्युआर कोडलाई क्विक रेस्पोन्स कोड भनेर पनि बुझ्न सकिन्छ । यो सेतो र कालो पिक्स प्याटर्नको सानो क्रस वर्ड पजलजस्तो देखिन्छ । क्युआर कोडमा ब्रान्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठुलो डेटा क्षमता, बैङ्कको खाता नम्बर भएको प्रविधिले पहिचान गर्न सक्छ ।

पछिल्लो समयमा स्मार्टफोनमै क्युआर कोड स्क्यानरको सुविधा उपलब्ध हुन थालेको छ । यसले यो प्रविधिको प्रयोग सजिलो र सुविधाजनक भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस