पहिरोले रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पहिरोले रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध


१६ भाद्र २०७८, बुधबार


रसुवा । निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । सवारी साधनको आवतजावत बन्द भएपछि उत्तरी क्षेत्रका वृद्विम, खाम्जिङ, थुमन र ठूलोस्याफ्रुका बासिन्दा पैदल हिँड्न बाध्य भएका छन् ।

यसरी नै दक्षिणी क्षेत्रका डाडागाउँ, ठूलोगाउँ, ठूलोभोर्ले–पारच्याङ, लाङ्वु, सरमथली पाटीखर्कलगायतका स्थानमा जाने ग्रामीण सडकसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री भरियाद्वारा ढुवानी गराउन स्थानीय बासिन्दा बाध्य भएका छन् ।

बिरामीलाई डोको तथा थुन्छेमा बोकेर स्वास्थ्य संस्थामा लैजानुपरेको जनाइएको छ । के–कति किलोमिटर सडक क्षति भयो भन्न यकिन जानकारी भएको छैन ।

यस वर्षको वर्षाबाट अत्यधिक पहिरो गएको र स्याउबारीबाट रसुवागढीसम्मको राजमार्ग भने निरन्तर सञ्चालन गराउन सफल भएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।

गत हप्ता धुञ्चेपारिको खोपाङ भिरको राजमार्गमा गएको पहिरो खुलाउन २४ घण्टा लागेको र राजमार्गको अन्य स्थानमा हुने गरेका अवरोध भने सकभर आजको आजै हटाई भन्सार कार्यालयबाट जाँच पास भएका मालवाहक सवारी सहजरूपमा गन्तव्यतर्फ पठाउन सुरक्षा निकायले सहजीकरण गर्दै आएको छ ।

स्याउबारीबाट रसुवागढीसम्म करिब ५० किलोमिटर राजमार्गको क्षेत्र बढी भिरपाखा भएका कारण अधिकांश भागमा साना–ठुला पहिरो जाने गरेको र गत असारदेखि हालसम्म १५० भन्दा बढी पहिरो पन्छाइएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।

मेलम्चीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापार व्यवसाय सहज पार्ने एक मात्र रसुवागढी नाका रहेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले अवरुद्ध सडक सुचारु गर्न उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिए ।

स्याफ्रुबेँसीदेखि रसुवागढी खण्डको १६ किमी क्षेत्रमा भने दिनहुँ सडक मार्ग अवरुद्ध हुने समस्या बढेको छ ।

हिमाली क्षेत्र खुकुलो माटो, गहिरो खोंच भएको स्थानमा निर्माणाधीन १११ मेगावाट रसुवागढी एवं १२० मेगावाट लाङटाङ भोटेकोशी जलविद्युत् आयोजनाका साथै अन्य स्थानमा सडक विभागको उपकरणले पहिरो पन्छाउने कार्य हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस