लोक सेवा अध्यक्षको प्रोफाइलमा कमेन्टको बाढी, अधिकृतहरूले लेखे -आयोगप्रति हामीलाई पूर्ण विश्वास छ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लोक सेवा अध्यक्षको प्रोफाइलमा कमेन्टको बाढी, अधिकृतहरूले लेखे -आयोगप्रति हामीलाई पूर्ण विश्वास छ


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । सिफारिसको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरुले लोक सेवा आयोगका अध्यक्षको फेसबुक प्रोफाइलमा कमेन्टको बाढी लगाएका छन् ।

आयोगका सबै चरणका परीक्षाहरू सकेर सिफारिसको पर्खाइमा बसेका शाखा अधिकृतका परीक्षार्थीहरुले आयोगका अध्यक्ष माधव रेग्मीको प्रोफाइलमा कमेन्टहरू लेखेर सम्पूर्ण चरणको परीक्षा सम्पन्न गरिसकेको विज्ञापनबाट पदसंख्या कटौती नगर्न दबाब दिएका हुन् ।

स्थानीय तथा प्रदेशमा समायोजित शाखा अधिकृतहरूले दायर गरेको रिटमा ‘निवेदकहरू जतिको पदसंख्यामा ज्येष्ठता समेतका मापदण्ड पूरा भएका कर्मचारीको पद मिलान नभएसम्म उक्त पद सङ्ख्यामा पदपूर्ति नगर्नु नगराउनु’ भन्ने सर्वोच्चको अन्तरिम आदेश दिएको थियो । उक्त आदेशसँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पत्राचार भइसकेको अवस्थामा आयोगको निर्णय आउन बाँकी छ ।

सम्बन्धित समाचार : सिफारिसको पर्खाइमा रहेका परीक्षार्थीद्वारा लोक सेवा अध्यक्ष र सामान्य सचिवलाई ज्ञापन

सम्बन्धित समाचार : मुख्य सचिव र प्रधानमन्त्री कहाँ पनि पुगे सिफारिसको पर्खाइमा रहेका शाखा अधिकृतका परीक्षार्थी

अदालतको आदेशपछि सरोकारित सबै निकायहरूमा ज्ञापन बुझाएका परीक्षार्थिहरुले अध्यक्षलाई सामाजिक सञ्जालबाटै सचेत गराउन खोजेका छन् । शाखा अधिकृत नतिजा प्रतीक्षारत परीक्षार्थी केपी खतिवडाले लेखेका छन् ‘लोक सेवा आयोगप्रति हामीलाई पूर्ण विश्वास छ ।’

त्यसैगरी अर्का प्रतीक्षारत परीक्षार्थी वसन्त कार्कीले अध्यक्ष रेग्मीको प्रोफाइलमा लेखेका छन् ‘यहाँको कार्यकालमा लोक सेवा आयोगको गरिमा थप उँचो हुने अपेक्षा गरेका छौ हाम्रो आशा, भरोसा र विश्वास लाई मर्न नदिनुहोला ।’

आयोग ऐनलाई स्मरण गराउँदै अध्यक्ष रेग्मी प्रोफाइल तस्बिरमा जीवन पौडेलले लेखेका छन् ‘लोक सेवा आयोग आम युवा विद्यार्थीको भरोसा र आशाको धरोहर हो । शाखा अधिकृत २०७६/७७ विज्ञापनको अन्तर्वार्ता समेत सकिसकेको छ । लोक सेवा आयोग ऐन दफा २८ ले परीक्षा भैसकेका पदमा सिट काट्ने रहेरफेर गर्ने विषयको परिकल्पना गरेको छैन । यसर्थ जति पदमा आम परिक्षार्थीहरुले अन्तरवार्ताका चरणसम्म परीक्षा दिएका हुन त्यति पदमा नै सिफारिस हुने गरी अन्तिम नतिजा(सिफारिस) यथासमयमा प्रकाशन गर्न आम परिक्षार्थीहरु अनुरोध गर्दछौँ ।’

त्यसैगरी अर्का नरबहादुर ठगुन्ना लेख्छन् माननीय अध्यक्षज्यू लोक सेवा आयोगको अहिले सम्मको साख, गरिमा, विश्वासलाई सधैँ सधैँ कायम राख्छ भन्नेमा हामी परीक्षार्थी विश्वस्त छौ । लोक सेवाले आफ्नू मूल मन्त्र निष्पक्षता योग्यता योग्यतालाई सधैँ कायम राख्छ भन्ने आशा छ ।
अहिलेको यो कालखण्डमा देखिएका समस्या समाधान गर्नु यसको अग्नि परीक्षाको रूपमा रहेको छ । लोक सेवा आयोगको तयारी गरिरहेका परीक्षार्थीको लगानी मेहनत त्याग तपस्या खेर जान नदिन एउटा अभिभावकको रूपमा आयोग रहोस् । शाखा अधिकृतको अन्तरवार्ता समेत सकेर सिफारिसको मुखमा पुगेका परीक्षार्थीको विरुद्धमा आयोग जाने छैन भन्नेमा हामी विश्वस्त छौ । हाल सम्म स्थापित मूल्य मान्यताहरूको आत्मसाथ एवं जगेर्ना गर्नु नै लोक सेवा आयोगको गरिमा रहनेछ ।

यससँगै रेग्मीको प्रोफाइलमा कमेन्ट गर्नेको सङ्ख्या यो समाचार तयार पार्दासम्म एक हजार तीन सय पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस