चौपाया छाडनेलाई भीमदत्त नगरपालिकाले अत्यावश्यक बाहेकका सेवामा रोक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

चौपाया छाडनेलाई भीमदत्त नगरपालिकाले अत्यावश्यक बाहेकका सेवामा रोक


१६ भाद्र २०७८, बुधबार


कञ्चनपुर । भीमदत्त नगरपालिकाले चौपाया ल्याएर बजार क्षेत्रमा छाडने नगरवासीलाई अत्यावश्यक बाहेकका सेवा रोक्का गर्ने भएको छ ।

महेन्द्रनगरमा छाडा चौपाया छाड्ने क्रम बढ्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि कडाइ गर्न थालेको हो । ‘छाडा पशु चौपाया नियन्त्रणका लागि नगरपालिका लागिपरेको छ । त्यसका लागि कानून बनाइएको छ’, नगरप्रमुख सुरेन्द्र विष्टले भने, ‘चौपाया छाड्ने व्यक्तिको अब अत्यावश्यकबाहेकका सेवा रोक्छौँ ।’

छाडा चौपायाले गर्दा बजार क्षेत्रमा व्यवसायीले निकै सास्ती खेप्दै आएका छन् । बजारको सुन्दरता बिग्रँदै जान थालेको छ । सवारी दुर्घटनाका घटनासमेत बढ्न थालेका छन् । ट्राफिक समस्या निम्तिन थालेकाले छाडा चौपाया छाड्नेमाथि निगरानी राख्ने कार्यसहित सेवा प्रवाह रोक्ने उनको भनाइ छ ।

स्थानीय तह निर्वाचनपछि नगरप्रमुख विष्टले पहिलो नगर सभाबाट छाडा पशु चौपाया व्यवस्थापनका लागि नीतिगत निर्णय गरी बजेट विनियोजन गराएका थिए । छाडा पशु चौपाया व्यवस्थापनका लागि निर्देशिका बनाएर वडा कार्यालयलाई व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

बागफाँटा र ब्रह्मदेवमा छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरी सञ्चालन गरिएका थिए । ब्रह्मदेवमा गौ अनुसन्धान केन्द्रका रुपमा गौशाला निर्माण गरिएको छ । स्थानीय तह निर्वाचनमा स्थानीयवासीले छाडा पशु चौपाया व्यवस्थापनको माग अघि सारेका थिए । नगर बासिन्दाको मागअनुसार गौशाला बनाएर चौपाया नियन्त्रण गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस