श्रीलङ्कन एयरको काठमाडौँ सीधा उडान सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

श्रीलङ्कन एयरको काठमाडौँ सीधा उडान सुरु


१५ भाद्र २०७८, मंगलबार


काठमाडौँ । श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ– श्रीलङ्का सिधा उडान सुरु गरेको छ ।

कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाजमा १३२ यात्रु काठमाडौँ आएका छन् । कोलम्बो–काठमाडौँ नियमित उडान सुरु भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँबाट १४९ यात्रु लिएर श्रीलङ्कन एयरको जहाज बिहान ११ः१० बजे पुनः कोलम्बो उडेको छ । सातामा दुई दिन मङगलबार र शनिबार उडान हुने विमानस्थलले जनाएको छ । काठमाडौँ–कोलम्बो सीधा उडान करिब साँढे तीन घण्टाको हुन्छ ।

एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । श्रीलङ्कन एयरले यो मौसममा आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ ।

कम्पनीले अवस्था हेरेर ‘विन्टर सिजन’का लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ । उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ ।

भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक सातामा कति भन्ने यकिन भइसकेको छैन । नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ ।

हाल एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ । एयरलाइन्सले आगामी सेप्टेम्बरबाट जापान, अस्ट्रेलिया र लन्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस