विराटनगरमा खटयात्रा आज निकालिने , प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विराटनगरमा खटयात्रा आज निकालिने , प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा


१५ भाद्र २०७८, मंगलबार


विराटनगर । विराटनगरमा कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण खटयात्रा आज (मंगलबार) निकालिँदै छ ।

प्रदेश १ सरकारले खटयात्रा मनाउनका लागि झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

विराटनगरको पानीट्यांकी चोकस्थित राधाकृष्ण मन्दिर परिसरबाट वि.सं. १९८८ बाट खटयात्रा सुरु गरिएको थियो । २०२४ सालबाट भने रथयात्रा सुरु गरिएको थियो ।

रथसँगै खटलाई पनि बजार परिक्रमा गराउने परम्परा छ । तर यस वर्ष कोरोना महामारीका कारण खटयात्रा मात्रै गरिने आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिएका छन् ।

कोरोना महामारीका कारण गत वर्ष पनि खटयात्रा मात्रै गरिएको थियो । यो वर्ष पनि रथयात्रा गर्दा जोखिम हुने भएकाले खटयात्रा निकाल्ने निर्णय भएको ओझाले बताए ।

राधाकृष्ण युगल जोडीको मूर्तिलाई खटमा राखेर तीनपैनी चोक, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, बरगाछी र राजवंशी चोकबाट पुष्पलाल चोक हुँदै मन्दिरमा फर्किएर यात्रा समापन हुनेछ । यसअघि मन्दिर परिसरबाट निस्कने रथ ट्राफिक चोक, महेन्द्र चोकबाट बरगाछी, पानीट्यांकी हुँदै मन्दिर परिसरमा पुगेर समापन हुने गरेको थियो ।

रथयात्रामा नेपालसहित भारतका विभिन्न स्थानबाट पनि दर्शनार्थी आउने गरेका थिए । विराटनगरको इतिहास र धार्मिक एवं सांस्कृतिक परिवेशसँग जोडिएको रथयात्रा कोरोना महामारीका कारण परम्पराको निरन्तरताका लागि खटयात्रामा सीमित गर्नु परेको ओझाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस