आजदेखि गोकर्णेश्वरका विद्यालय सञ्चालन गरिने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

आजदेखि गोकर्णेश्वरका विद्यालय सञ्चालन गरिने


१५ भाद्र २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आज (मंगलबार) देखि विद्यालय सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई परिपत्र गरी आज (मंगलबार) देखि सबै विद्यालय विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्न निर्देशन दिएको हो ।

काठमाडौँ उपत्यकाका विद्यालय ०७६ चैतदेखि नै बन्द अवस्थामा छन् । गत वर्ष केही समय खुलेका विद्यालय पनि पुनः कोरोना सङ्क्रमण बढेपछि बन्द भएका थिए ।

यस अवधिमा धेरैजसो विद्यालयले अनलाइनको माध्यमबाट कक्षा सञ्चालन गर्दै आएका छन् । गोकर्णेश्वर नगरपालिकाले भने आजदेखि भौतिक दूरी र स्वास्थ्य मापदण्डको पालना गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

गोकर्णेश्वर जस्तै उपत्यकाका धेरै स्थानीय तहले अब बिस्तारै विद्यालय सञ्चालन गर्ने आन्तरिक तयारी अघि बढाएका छन् ।

‘भदौ १५ गतेदेखि सबै विद्यालय सञ्चालन गर्ने निर्णय भएकोले सोही अनुसार विद्यालय सञ्चालन गर्ने उपयुक्त वातावरण मिलाउन अनुरोध गरिन्छ,’ नगरपालिकाका उपसचिव विजयप्रसाद आचार्यले जारी गरेको सूचनामा भनिएको छ, ‘विद्यालय स्वयंले स्वास्थ्य सुरक्षाको भरपर्दो र विश्वसनीय वातावरण अनिवार्य रुपमा तय गर्नुपर्ने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस