२० वर्षपछि अफगानिस्तानबाट अमेरिकी सैनिक पूर्णरुपमा फिर्ता, तालिबानले मनाए विजय उत्सव « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

२० वर्षपछि अफगानिस्तानबाट अमेरिकी सैनिक पूर्णरुपमा फिर्ता, तालिबानले मनाए विजय उत्सव


१५ भाद्र २०७८, मंगलबार


काठमाडौँ। अमेरिकाले अफगानिस्तानमा २० वर्षदेखि जारी युद्ध औपचारिक रुपमा अन्त्य भएको जनाएको छ ।

तोकिएको समय सीमा अनुसार नै अगस्ट ३१ का दिन आफ्नो अन्तिम सैनिक टोलीले काबुल छोडेको अमेरिकी सेनाले जनाएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु गए रातिको अन्तिम उद्धार उडानमा सहभागी भएका थिए ।

अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडे लगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गन मार्फत गोली चलाएर खुसीयाली मनाएको बिबिसीले जनाएको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमान्डका प्रमुख जनरल फ्र्याङ्क मकेन्जीले पेन्टागनमा आयोजित प्रेस ब्रिफिङमा सन् २००१ को सेप्टेम्बर ११ देखि अफगानिस्तानमा सुरु भएको युद्ध पूर्णरुपमा बन्द भएको घोषणा गरे ।

अमेरिकी फौज फिर्ता हुन थालेदेखि नै तालिबान समूहले अफगानिस्तान कब्जा अभियानलाई तीव्र पारेको थियो । तालिबान लडाकुहरु राजधानी काबुल प्रवेश गरे लगत्तै त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका थिए । त्यसपछि सुरु भएको उद्धार उडानको क्रममा अमेरिकाले १ लाख २३ हजार अफगान नागरिकलाई उद्धार गरेको छ ।

अमेरिकी सेना पूर्णरुपमा फिर्ता भएसँगै अब काबुल विमानस्थललाई तालिबानले आफ्नो हातमा लिने छ । तालिबानले अब विमानस्थलमा व्यापारिक उडानको सुरुवात गर्ने र कागजात भएका व्यक्ति देशबाहिर जान पाउने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस