काँकडभिट्टामा ३५ अर्ब व्यापार घाटा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काँकडभिट्टामा ३५ अर्ब व्यापार घाटा


१५ भाद्र २०७८, मंगलबार


बनियानी । झापाको पूर्वी नाका काँकडभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ ।

गत आर्थिक वर्षमा रु ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७ र ०७८ मा रु ३५ अर्ब ८५ करोड व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए।

उनका अनुसार यो नाकाबाट गत आवमा रु ४८ अर्ब ५ करोडको वस्तु आयात भएको छ भने रु १२ अर्ब ६५ करोडको वस्तु निर्यात भएको छ । काँकडभिट्टा नाकाबाट गत आवमा आयात–निर्यात दुवैतर्फ बढोत्तरी भएको छ ।

आव २०७६ र ७७ को तुलनामा आव २०७७ र ७८ मा रु ९ अर्ब ६५ करोडले आयात बढेको छ भने निर्यात तर्फसमेत रु ४ अर्ब बढेको छ । काँकडभिट्टा नाकाबाट भारत, बङ्गलादेश र भुटानसँगको व्यापार घाटा उच्च रहेको प्रमुख विश्वकर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस