किर्गिस्तानमा नोभेम्बर २८ मा संसदीय निर्वाचन हुने « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

किर्गिस्तानमा नोभेम्बर २८ मा संसदीय निर्वाचन हुने


१४ भाद्र २०७८, सोमबार


बिस्केक । किर्गिस्तानमा संसदीय निर्वाचन आगामी नोभेम्बर २८ मा हुने गरी मिति घोषणा गरिएको छ ।

राष्ट्रपति सादिर जपारोफले निर्वाचनको मिति घोषणा गरिएको निर्णयमा हस्ताक्षर गरिसकेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

जनमत सङ्ग्रहबाट संशोधन गरिएको संवैधानिक व्यवस्थाअनुसार निर्वाचन घोषणा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अहिले निर्धारण गरिएको निर्वाचनबाट ९० जना प्रतिनिधिहरू पाँच वर्षका लागि निर्वाचित हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

संशोधन गर्नु अगाडिको संविधानअनुसार पार्टीहरूले पाएको मतका आधारमा संसद्का लागि १२० जना प्रतिनिधिहरू छनौट हुने व्यवस्था रहेको थियो ।

केही महिना अगाडि भएको किर्गिस्तानको राष्ट्रपतीय चुनावबाट जपारोफ ठुलो मतका साथ विजयी भएका थिए।

राजनीतिक प्रतिद्वन्द्वीलाई बन्धक बनाएको आरोपमा जेल जीवनसमेत बिताएका जपारोफले नयाँ अधिकारसहित राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

किर्गिस्तानमा यसअघि गत अक्टोबरमा भएको संसदीय निर्वाचन विवादमा परेर राजनीतिक सङ्कट उत्पन्न भएको थियो ।

उक्त चुनावको परिणाम विवादित बनेपछि विरोध चर्किँदै जाँदा तत्कालीन राष्ट्रपति सोरोनबी जेनबेयकोफले राजीनामा दिन बाध्य हुनु पारेको थियो ।

किर्गिस्तानमा ठुलो आर्थिक सङ्कट रहेको छ भने त्यसको व्यवस्थापन अहिलेको प्रमुख चुनौती देखिएको छ ।

त्यसै गरी बेरोजगारी पनि किर्गिस्तानको अर्को ठुलो समस्या हो । देशमा रोजगारी नपाउँदा हजारौँ युवाहरू बिदेसिन बाध्य भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस