नेपालमा प्रयोग भएको कोरोनाको खोप प्रभावकारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालमा प्रयोग भएको कोरोनाको खोप प्रभावकारी


१४ भाद्र २०७८, सोमबार


काठमाडौँ । नेपालमा पछिल्लो समयमा नियमित रूपमा लगाइएको कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानबाट खोप लगाएका १३ हजार १६१ जनाको नमुना परीक्षण गर्दा ९० प्रतिशतसम्म एन्टिबडी देखिएको हो ।

मन्त्रालयले गत असार २१ गतेदेखि ३० साउनसम्म खोप लगाएका मानिसको नमुना परीक्षण गरेको थियो । सर्वेक्षणमा प्राप्त नतिजाअनुसार देशभर कूल ६८.६ प्रतिशत नमुनामा कोभिड १९ एन्टिबडी देखिएको छ । एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएकामा ९० प्रतिशत एन्टिबडी देखिएको छ ।

सो नतिजाका आधारमा नेपालमा प्रयोग भएको खोप अत्यन्त प्रभावकारी देखिएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपालमा भेरोसेल, जोन्सन एण्ड जोन्सन, कोभिसिल्ड लगायत खोप प्रयोग गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या ५० लाख ६३ हजार ५२२ रहेका छन् । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ४० लाख ५२ हजार ७६५ रहेको छ ।

कोरोना भाइरसले आफ्नो रूप परिवर्तन गरिरहने जोखिम कायमै रहेकाले सङ्क्रमणको रोकथाम, नियन्त्रण गर्नु नै एक मात्र प्रभावकारी उपाय हो । जुन हालको अवस्थामा निकै सान्दर्भिक रहेको मन्त्रालयको भनाइ छ ।

भौतिक दूरी कायम गर्ने, गराउने, भिडभाड नगर्ने, नगराउने, घर बाहिर ननिस्कनै पर्ने भएमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने गराउने, सरसफाइमा विशेष ध्यान दिने र कोरोना विरुद्धको खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

कोरोनासँग मिल्दो जुल्दो सङ्क्रमण भएको तथा कुनै पनि लक्षण भएमा आफ्नो स्थानीय तहसँग सम्पर्क गरी निःशुल्क रूपमा परीक्षण गराउन वा नजिकको सरकारी संस्था, प्रयोगशालामा निःशुल्क परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणको पुष्टि भएमा विगत सात दिनभित्र आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई अलग्गै बस्न तथा नियमित रूपमा निगरानीमा रहन र स्वास्थ्य समस्या देखिए परीक्षण गर्न अनुरोध गरिएको छ । नियमित रूपमा १० दिनसम्म आइसोलेसनमा बसे कोरोना ठिक भएर जाने मन्त्रालयको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस