काँग्रेसको चुनावी चहलपहल « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

काँग्रेसको चुनावी चहलपहल


१३ भाद्र २०७८, आइतबार


पर्वत । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा काँग्रेस कार्यकर्ताको भेटघाट र छलफल बाक्लिन थालेको छ ।

वडासमितिका बैठक शनिबारदेखि नै सुरु भएका छन् । पार्टीको महाधिवेशनको मिति पटकपटक सर्ने गरेकामा धेरैलाई महाधिवेशन हुँदैन कि भन्ने आशङ्का थियो । शनिबार पार्टीले भदौ १८ मा वडाको अधिवेशन गर्ने सुनिश्चित गरेपछि जिल्लामा चुनावी रौनक एक्कासि तातेको हो ।

वडाको अधिवेशन आउन अब पाँच दिन बाँकी रहेको हुनाले हतारहतारमा भेला र छलफल हुन थालेका हुन् । कुश्मा नगरपालिका–७ ले शनिबार आमभेला डाकेर भदौ १४ गते पुनः छलफल गरी आगामी नेतृत्वको बारेमा ठोस निर्णय गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति सागर गिरीले वडासमितिको बैठक डाकेर महाधिवेशनको तयारी सुरु भएको बताए । कुश्मा–५ ले पनि शनिबारनै आगामी महाधिवेशनका बारेमा क्रियाशील सदस्यबीच छलफल गरेको छ । फलेवास–३ शङ्करपोखरीमा पनि चुनावी छलफलका लागि यही भदौ १५ गते आमभेला डाकिएको वडा सभापति अर्जुनबहादुर कार्कीले जानकारी दिए ।

जलजला गाउँपालिका–८ नाग्लीवाङमा शनिबारदेखि नै तयारी सुरु भएको सभापति रामप्रसाद क्षेत्रीले जानकारी दिए । कुश्मा, जलजला र फलेवासमा मात्र नभई जिल्लाका सात स्थानीय तहका ६१ वटै वडामा कांग्रेसको महाधिवेशनको तयारी सुरु भएको हो ।

सहमति हुने ठाउँमा सहमति र सहमति नभएको खण्डमा निर्वाचन गरेर नेतृत्व चयन गरिने जिल्ला सभापति खिमप्रसाद भुसालले जानकारी दिए । वडागत रूपमा छानिने पदाधिकारी र जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गर्ने बारेमा गाउँमा छलफल सुरु भएका छन् ।

नेपाली कांग्रेसको महाधिवेशनका लागि केन्द्रले जिल्ला निर्वाचन अधिकारी तोकिसकेको छ । निर्वाचनका लागि आवश्यक कागजात तथा सामग्रीहरू केन्द्रले जिल्लामा पठाउन सुरु गरेको छ । कांग्रेसको अबको नेतृत्व कस्तो बनाउने भन्नेबारेमा गाउँदेखि जिल्ला सदरमुकाममा आजदेखि चर्चा परिचर्चा बढ्न सुरु भएको छ ।

जिल्लाका ६१ वटा वडा, दुई निर्वाचन क्षेत्रका क्षेत्रीय कार्यसमिति, सातै स्थानीय तहका नगर तथा गाउँ कार्यसमिति र जिल्ला कार्यसमिति चयनका लागि क्रियाशील सक्रिय बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस