वर्षा र डुबानका कारण विद्युत् आपूर्ति बन्द, शबस्टेशन सञ्चालनका लागि केही दिन लाग्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वर्षा र डुबानका कारण विद्युत् आपूर्ति बन्द, शबस्टेशन सञ्चालनका लागि केही दिन लाग्ने


१२ भाद्र २०७८, शनिबार


नवलपरासी । केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीअन्तर्गतको शबस्टेशनमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको छ ।

वर्षा र डुबानका कारण सो शबस्टेशनको ब्रेकरलगायत अन्य उपकरणमा पानी जमेकाले विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिए । उनले भने, ‘वर्षा र डुबानका कारण ब्रेकरलगायत अन्य उपकरणमा पानी जमेकाले तत्कालै शबस्टेशनबाट विद्युत् आपूर्ति गर्न सक्ने अवस्था रहेको छैन ।’

सो शबस्टेशनबाट विद्युत् आपूर्ति बन्द भए पनि तत्कालका लागि गण्डक पावर हाउस, बर्दघाट र सुनवल बजार क्षेत्रको शबस्टेशनबाट परासी वितरण केन्द्रअन्तर्गतका ग्राहकलाई विद्युत् आपूर्ति गरिएको उनको भनाइ छ ।

डुबानका कारण परासीस्थित शबस्टेशनको कम्पाउन्ड वालमा क्षति पुग्दा स्टेशनभित्र पानी पसेर विद्युत् आपूर्तिमा महत्पूर्ण भूमिका निर्वाह गर्ने ब्रेकरसहित उपकरणमा निकै ठुलो क्षति पुर्‍याएको छ । केन्द्रका अनुसार यस शबस्टेशनबाट विद्युत् आपूर्ति गर्न अझै केही दिन लाग्ने छ । प्रमुख श्रीवास्तवले शबस्टेशन सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनको तयारी गरिसकिएको र आजैबाट मर्मत सम्भारका काम सुरु गरिने जानकारी दिए।

सो केन्द्रअन्तर्गत करिब ४४ हजार ग्राहक छन् । तीमध्ये तत्कालका लागि ३५ हजार ग्राहकलाई गण्डक पावर हाउस, बर्दघाट र सुनवल बजार क्षेत्रको शबस्टेशनबाट विद्युत् आपूर्ति गरिएको हो ।

ससाना उद्योगलाई विद्युत् आपूर्ति गरिए पनि ११ हजार केभिएको ट्रान्सफर्मरमार्फत सञ्चालनमा रहेका ठुला उद्योगधन्दालाई तत्काल सञ्चालन नगरिदिन आग्रह गरिएको प्रमुख श्रीवास्तवले जानकारी दिए ।

परासी वितरण केन्द्रअन्तर्गत सूर्यपुरा, सुनवल, महेशपुर र बञ्जरियास्थित कार्यालय पर्दछन् । यो केन्द्रअन्तर्गत कूल ४४ हजार ग्राहक छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस