कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग


१२ भाद्र २०७८, शनिबार


काभ्रेपलान्चोक । पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

नगरपालिकाका ११ महिलासहित २२ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । हालै सम्पन्न नवौँ नगर सभाले कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

यसका लागि नगरपालिकाले मृतकको कागजातसहित स्वास्थ्य शाखामा सम्पर्क गर्न सम्बन्धित परिवारलाई आग्रह गरेको छ । ‘नगर सभामा निर्णय भएअनुसार कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गर्दै छौँ’, नगरप्रमुख भीम न्यौपानेले भने ।

उनका अनुसार आजदेखि सम्पर्कमा आएका मृतकको परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गरिनेछ । हाल नगरपालिका भित्रका १२ महिलासहित ४६ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । पनौती नगरपालिकाका सबै सङ्क्रमित होम आइसोलेसनमै रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) ले जनाएको छ ।

नगरपालिकाले आउँदो केही महिनामा कोरोना भाइरस सङ्क्रमणको दर बालबालिकामा उच्च हुने प्रक्षेपण गरेको छ । सोही अनुरुप सङ्क्रमित बालबालिका लागि हाललाई ३० श्ययाको अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गरेको छ । स्थानीय रोटरी नेपालसँगको सहकार्यमा सम्भावित दुर्घटनाबाट बालबालिकालाई जोगाउन अहिल्यै पूर्व तयारीस्वरुप वडा नं ४ कार्यालयमा आइसोलेसन वार्ड बनाएको नगरप्रमुख न्यौपानेले बताए।

नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि वैशाख अन्तिम साता २५ श्ययाको अक्सिजनसहितको आइसोलेसन कक्ष व्यवस्थित गरेको थियो । काभ्रेपलान्चोकमा हालसम्म १४ हजार ६३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । तीमध्ये १८७ जनाको मृत्यु भएको छ । हालसम्म कूल सङ्क्रमितमध्ये ९६ प्रतिशत अर्थात् १३ हजार ४३२ जना सङ्क्रमणमुक्त भइसकेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ८५ जना सङ्क्रमणमुक्त भएका छन् ।

काभ्रेपलान्चोकमा हाल ४४४ जना सक्रिय सङ्क्रमित छन् । तीमध्ये सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १२६, बनेपामा १०४, पाँचखालमा ५१, नमोबुद्धमा ५४, मण्डनदेउपुरमा नौ तथा रोशी गाउँपालिकामा १०, चौँरी देउरालीमा एक, तेमालमा एक, भुम्लु १५, खानीखोलामा दुई, बेथानचोकमा १८ र महाभारत गाउँपालिकामा दुई रहेको केन्द्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस