शुभाने खोलामा बाढीले बगाउँदा एक महिलाको मृत्यु, बालिका बेपत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शुभाने खोलामा बाढीले बगाउँदा एक महिलाको मृत्यु, बालिका बेपत्ता


१२ भाद्र २०७८, शनिबार


ढल

ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानाका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् ।

विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको ज्यान गएको हो । वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलले दिउँसो ४ः३० बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा अन्दाजी आठ वर्षीया बालिका बेपत्ता भएको जानकारी गराए । स्थानीयवासी उद्धव घिमिरेका अनुसार ज्यान गुमाउनेमा स्थानीय सञ्जु सिङतान हुनाका साथै बेपत्ता भएकी बालिकाको भने अझै परिचय खुल्न नसकेको बताए ।

महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजेन्द्र क्षेत्रीले घटनाको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ लागेको जानकारी गराए । विगत केही दिनदेखि मुलुकका विभिन्न स्थानमा बाढी अनि पहिरोलगायत डुबानको समाचार आइरहँदा कान्ति लोकपथ तथा बगुवा र आश्राङ सडकसमेत अवरुद्ध भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस