निर्यात बढाउन महासङ्घले दियो सरकारलाई सुझाव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्यात बढाउन महासङ्घले दियो सरकारलाई सुझाव


११ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यात वृद्धिलाई स्थायित्व दिँदै थप सुधारका लागि सरकारलाई आग्रह गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात व्यापारमा ११५ प्रतिशतले वृृद्धि भएको सन्दर्भमा महासङ्घले नेपालबाट निर्यात हुने वस्तुहरूको थप पहिचान एवं प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ । उसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको स्थापना यथाशीघ्र गरिनुपर्ने, नेपालका साना मझौला उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भइरहेकाले निर्यात प्रवद्र्धनका लागि प्रोत्साहन कम्तीमा १० प्रतिशत हुनुपर्ने उल्लेख गरेको छ ।

तेस्रो मुलुक निर्यात गर्नेलाई थप प्रोत्साहनको व्यवस्था गरी फरक फरक वस्तुुका लागि नगद अनुदान रकम छुट्याइनुपर्ने सुुझाव महासङ्घले उद्योग, वाणिज्य तथा आपुूर्ति मन्त्रालयलाई दिएको छ । त्यसैगरी नगद अनुदान प्राप्तिको प्रक्रिया झन्झटिलो भएकाले सरलरूपमा निकासी भएको विन्दुबाट सात दिनभित्रै सम्बन्धित उद्योग व्यवसायको बैंक खातामा अनलाइन भुक्तानीको व्यवस्था गर्न अनुरोध गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम महिनामा नेपालबाट कूल रु २० अर्ब ७६ करोड ५१ लाखको वस्तु निर्यात भयो भने सोही अवधिमा अघिल्लो आवमा रू नौ अर्ब ६२ करोडको निर्यात भएको थियो । यो निर्यातको वृद्धिलाई स्थायित्व दिँदै अझ सुधार गर्दै जानुपर्ने महासङ्घको भनाइ छ ।

निर्यातमा पुनरकर्जाको हालको व्यवस्था अव्यवहारिक भएकाले निर्यातको प्रत्येक अर्डरका लागि पुनरकर्जाको व्यवस्था हुनुुपर्ने र त्यस्तो कर्जाको समयावधि न्यूनतम तीन वर्षका लागि गरिनुपर्ने, ढुवानी लागत बढी भएकाले नेपालले आफ्नै कन्टेनरको व्यवस्था गर्न ध्यानकर्षण गराएको छ ।

महासङ्घको निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधानसहित समितिका पदाधिकारी, सदस्य, सल्लाकारहरू सम्मिलित प्रतिनिधिमण्डलले उद्योग मन्त्रालयका सहसचिव एवं द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका प्रमुख नारायणप्रसाद रेग्मीलाई भेटी उक्त सुझाव दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस