दार्चुला घटनाको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने गृहमन्त्रीको प्रतिबद्धता « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

दार्चुला घटनाको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने गृहमन्त्रीको प्रतिबद्धता


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको जयसिंह धामी बेपत्ता भएको तुइन प्रकरणको छानबिन प्रतिवेदन यथाशीघ्र आउने बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उनले घटनाको मन्त्रालयद्वारा गठित समितिले गम्भीर रुपमा छानबिन गरिरहेको बताए । उनले केही सदस्य काम विशेषले बाहिर जाँदा प्रतिवेदन तयार हुन ढिलाइ भएकोसमेत जानकारी दिए।

गृहमन्त्री खाँणले विसं २०५० देखि अहिलेसम्म उक्त जिल्लामा तुइनबाट खसेर २६ जनाको दुखद निधन भएको पनि जानकारी गराए । उनले महाकाली नदीमाथिको तुइन हटाएर पुल निर्माणका लागि पनि निर्देशन भइसकेको समितिलाई जानकारी गराए । ‘नागरिकको ज्यान जोगाउनु राज्यको दायित्व हो, नागरिकको जीवन रक्षाका लागि सरकार हिजो पनि गम्भीर थियो, आज पनि छ र भोलि पनि हुनेछ’, उनले भने ।

गृहमन्त्री खाँणले नेपाल प्रहरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको नजिक पुगिसकेको र अनुसन्धानले पूर्णता पाएपछि सार्वजनिक हुने जानकारी पनि गराए । उनले कालाबजारी, पुन मिति टाँसेर खाद्यपदार्थ बिक्री गर्ने अवस्थाको अन्त्य र साना मान्छे पक्राउ पर्ने र मूल मान्छे छुट्ने अवस्था नहोस् भन्नेमा सरकार गम्भीर रहेको बताए । उनले कुनै पनि खाद्य पदार्थ आवश्यकताभन्दा बढी आयात भएको छ भने त्यसमा सम्बन्धित अधिकारीसँग छलफल गर्ने समेत आश्वासन दिए ।

गृहमन्त्री खाँणसहित गृहसचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री उपस्थित समितिको बैठकमा सांसदहरुले उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउने सन्दर्भमा ढिलाइ भएरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले कालोबजारी नियन्त्रण र मितिसकिएको खाद्य पदार्थमा पुनः मिति राखेर बिक्री गर्ने कार्य नियन्त्रण गर्न पनि आग्रह गरेका थिए । बैठकमा सत्तारुढ नेपाली काँग्रेसका देवेन्द्रराज कँडेलले कालोबजारी गर्ने र अखाद्य वस्तुमा नयाँ मिति राखेर बिक्री गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेकाले नियन्त्रणका लागि गृहमन्त्रीको ध्यानाकर्षण गरेका थिए ।

नेपाली काँग्रेसका मीना पाण्डे र दीलेन्द्रप्रसाद बडूले पनि दार्चुला घटनाका विषयमा सरकारले निडरताका साथ छानबिन गर्नुपर्ने र छिटो सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिए । यस्तै सोही पार्टीका अमरेशकुमार सिंहले राजनीतिक मिलेमतोका कारण मुलुकमा कालोबजारीका घटना हुने गरेको भन्दै त्यसतर्फ गम्भीर हुन आग्रह गरे ।

नेकपा (माओवादी केन्द्र) का रेखा शर्मा र यशोदा गुरुङ सुवेदीले दार्चुला घटनाको सम्बन्धमा भएको छानबिन प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइले दोषीलाई कारवाही हुने अवस्थामाथि नै आशङ्का उब्जिएको छ भने ।
सासद सुवेदीले सुरुमा सरकारको पहलकदमी महत्वपूर्ण भए पनि पछिल्लो समयमा कमजोर प्रदर्शन भइरहेको बताए । सासद शर्माले निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषी पत्ता लाग्न नसक्दा समग्र नेपालीको नै शिर निहुरिएको बताउँदै गम्भीर प्रकृतिका घटनामा संवेदनशील हुन गृहमन्त्रीको ध्यानाकर्षण गराए । सोही पार्टीका महेश्वर जङ गहतराजले दार्चुलाको घटना छानबिन प्रक्रिया ढिलाइ भएको भन्दै तत्काल सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महेश बस्नेतले दार्चुला घटनाका विषय दुई देशबीच छलफल गर्नुपर्ने भए पनि सरकार किन मौन भनी प्रश्न गरे । उनले भने, ‘समाजमा केही घटना घट्यो भने प्रहरीको खोजी किन हुँदैन, सामाजिक अभियन्ता र युट्युवरको खोजी हुन्छ किन? कानून कार्यान्वयन गर्ने निकाय कहाँनिर चुक्यो, गम्भीर हुनुपर्ने बेला आएको छ ।’

समितिका सदस्य नेकपा एकीकृत समाजवादीका झपटबहादुर रावलले दार्चुला घटनामा जयसिंह धामी बगेको नभइ बगाएको र खसेको नभइ खसाइएको हो, भने । उनले खुला सीमानाका कारण नेपालमा आपराधिक गतिविधि बढ्दो रहेको दाबी गरे ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दार्चुला घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको प्रति असन्तुष्टि व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस