होटल अपाङ्गमैत्री बन्न सके पर्यटन प्रवर्द्धन हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

होटल अपाङ्गमैत्री बन्न सके पर्यटन प्रवर्द्धन हुने


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ  । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को एक अध्ययनले नेपालका होटल व्यवसायीले अपाङ्गमैत्री पूर्वाधार र सेवामा लगानी गर्न सके पर्यटन प्रवर्द्धन हुने बताएको छ ।

बुधबार भर्चुअल माध्यमबाट सार्वजनिक ‘नेपालका होटलहरुमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचसम्बन्धी एक सर्वेक्षण’ ले उक्त सुधार भएमा देशको आर्थिक वृद्धिदरसमेत उकासिने दाबी गरेको छ ।

यो प्रतिवेदन नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँगको सहकार्य र आईएफसीको आर्थिक तथा प्राविधिक सहयोगमा तयार गरेको हो । 

आईएफसीले अध्ययनमा देशभरका ९० वटा तारे होटल र त्यसमा संलग्न उद्यमी र व्यवसायीलाई समावेश गरेको थियो । सहभागीमध्ये ९५ प्रतिशत व्यवसायीले पहुँचयोग्य पर्यटनको अवधारणाबारे जानकार रहेको बताए पनि लगानी भने नगरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
‘हाल सञ्चालित अधिकांश होटलमा अपाङ्गता भएका व्यक्तिको आवतजावतका लागि लिफ्ट र भिराला र्‍याम्प मात्रै छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘१७ प्रतिशत होटलले दृष्टिविहीनका लागि सङ्केत राखेका छन् । ९ प्रतिशत होटलका कर्मचारी विशिष्ट क्षमता भएका पाहुनाबारे प्रशिक्षित छन् । 

३३ प्रतिशत होटलमा अपाङ्गता भएका अतिथिका लागि ह्विलचेयरको व्यवस्था छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस