खाद्य विभाग र डीडीसीमा अख्तियारको छापा, जफत गर्‍यो कागजात « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खाद्य विभाग र डीडीसीमा अख्तियारको छापा, जफत गर्‍यो कागजात


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र दुग्ध विकास संस्थान(डीडीसी)को कार्यालयमा छापा मार्दै कागजातहरू नियन्त्रणमा लिएको छ ।

खाद्य म्याद नाघेको बटर बिक्री वितरण गरेर खाद्य ऐन विपरीत उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने डीडीसी र आफ्नो जिम्मेवारी पुरा गर्न नसक्ने तथा भूमिकामाथि नै शङ्का उत्पन्न भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कार्यालयमा पुगेर सो सम्बन्धी सम्पूर्ण कागजातहरू नियन्त्रणमा लिएको आयोग उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

डीडीसीले लेबलमा आठ महिना अघि नै उपभोग गरी सक्ने भनिएको बटरलाई प्रशोधन गरी घ्यू बनाएर बेचेको थियो भने विभागले एकातिर खाद्य ऐन बमोजिम तत्काल म्याद नाघेका खाद्य वस्तुको विवरण मुचुल्का बनाइ तत्काल नष्ट गर्ने वा गुणस्तर प्रयोगशाला जाँच गर्नुपर्ने अवस्थामा जाँच रिपोर्ट प्राप्त नहुन्जेलका लागि सिल गरी रोक्का राख्नु पर्नेमा सो नगरी ऐनको दफा ५ को उपदफा १ अनुसार अदालतमा मुद्दा चलाउनु पर्नेमा मुद्दालाई फितलो बनाउन दफा ५ को उपदफा २ अनुसार कम सजाय हुने गरी मुद्दा जिल्ला प्रशासन कार्यालयमा चलाएसँगै अख्तियारले चाँसो लिएको थियो ।

घटनाबारे दुबैले आ आफ्नो बचाउ गर्दै आएको भए पनि तथ्यगतरुपमा दुवैको कमजोरी सतहमा आएको छ । यति मात्रै होइन, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भूमिका माथि नै प्रश्न उठेको छ ।

सम्बन्धित समाचार : खाद्य विभाग र डीडीसीको अकर्मण्यताको पराकाष्ठाका कारण जनस्वास्थ्यमाथि खेलबाड

गत असोज २७ मा काठमाडौँ महानगरपालिका र उपभोक्ता अधिकारवादी सहभागी टोलीले गरेको अनुगमनमा बालाजु प्लान्टमा एक लाख ९४ हजार ९७५ किलो बटर उपभोग्य मिति सकिएको अवस्थामा फेला परेको तथ्य प्रकाशित भएको थियो । सो घटनामा विभाग आफैले पटक पटक अनुगमन गरेको थियो । लेबलमा आठ महिना अघि नै उपभोग गरी सक्ने भनिएको बटरलाई प्रशोधन गरी घ्यू बनाएर डीडीसीले बेचेको पाइएपछि अहिले उक्त घटना सतहमा आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस