इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन शिक्षा समितिको निर्देशन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन शिक्षा समितिको निर्देशन


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ ।

कक्षा १२ को परीक्षा सम्बन्धमा, इञ्जिनियरिङ्ग कलेजको शुल्कका सम्बन्धमा मंगलबार बसेको समितिको बैठकले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क विदाई, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शीर्षकको शुल्क नलिन निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले कलेज बन्द भएको अवस्थामा कलेजले विदाइ, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शीर्षकका शुल्क लिनु वैज्ञानिक नभएको भन्दै उक्त शीर्षकको शुल्क नलिन निर्देशन दिइन् ।

शुल्क बढी लिएको भन्दै त्रिवि सम्बन्धन प्राप्त उपत्यकाका १० इन्जिनियरिङ कलेजका विद्यार्थी आन्दोलित छन् ।

इञ्जिनीयरिङ कलेजहरुले अनलाइन कक्षा सञ्चालन भएको बेलामा पनि खेलकूदलगायतका अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न बिबादका कारण परीक्षा समेत अन्यौलमा परेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका १० निजी कलेजमा विद्यार्थीले अनलाइन कक्षा पढिरहँदा प्रशासनले खेलकूद, भ्रमण, प्रयोगशाला, पुस्तकालयलगायत शीर्षकमा शुल्क लिइरहेका छन् । परीक्षाभन्दा पहिले शुल्क सबै तिर्नुपर्ने भए पनि विद्यार्थीले आफूहरु सहभागी नभएका क्रियाकलापमा शुल्क लिन नहुने भन्दै त्यसको विरोध गरेका छन् । कलेजमा धर्ना गरिरहेका विद्यार्थीले यी माग सम्बोधन नहुँदासम्म परीक्षा सञ्चालन गर्न नहुने बताउँदै आएका छन् । स्नातक तहको सबै वर्षको परीक्षा अर्को महिनाको पहिलो साता गर्ने तयारी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस