फाइजर बन्यो अमेरिकामा पूर्ण स्वीकृति पाउने पहिलो खोप « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फाइजर बन्यो अमेरिकामा पूर्ण स्वीकृति पाउने पहिलो खोप


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । अमेरिकामा फाइजर खोप कोरोना भाइरसविरुद्धको पूर्ण स्वीकृति पाउने पहिलो खोप बनेको छ।

दुई मात्रा लगाउनु पर्ने फाइजरको खोपलाई अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले पूर्ण स्वीकृति प्रदान गरेको हो। एफडिएको पूर्ण स्वीकृति पाउने फाइजर खोप पहिलो हो।

यसअघि यो खोपले आपत्कालीन प्रयोग अनुमति पाएको थियो। एफडिएले पूर्ण स्वीकृति प्रदान गरे पनि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट भने अहिले नै त्यस्तो स्वीकृति पाएको छैन। फाइजरले त्यसका लागि पनि प्रक्रिया अघि बढाइने जनाएको छ।

एफडिएले १६ वर्ष र सो भन्दा माथिको उमेरका लागि पूर्ण स्वीकृति प्रदान गरेको हो। पूर्ण स्वीकृति पाएसँगै खोप लगाउन आनाकानी गरिरहेका तथा खोप विरोधीहरुलाई पनि बुझाउन सहयोग पुग्ने अपेक्षा छ।

झन्डै ४४ हजार मानिसमा गरेको अध्ययनको नतिजापछि खोपलाई पूर्ण स्वीकृति प्रदान गरिएको एफडिएले जनाएको छ। यो खोप कोरोना भाइरसको सङ्क्रमण रोक्नमा ९१ प्रतिशत प्रभावकारी देखिएको छ।

यो खोप १२ देखि १५ वर्ष उमेर समूहका लागि भने अझै पनि आपत्कालीन प्रयोग अनुमति मात्रै रहेको एफडिएले जनाएको छ। एफडिएको पूर्ण अनुमतिसँगै अमेरिकी आर्मीले आफ्ना सबै सक्रिय सैनिकहरुले अनिवार्य रुपमा खोप लगाउनु पर्ने बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस