वार्ता र सहमतिको भ्रममा नपरौँ : माधव नेपाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वार्ता र सहमतिको भ्रममा नपरौँ : माधव नेपाल


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वार्ता र सहमतिको भ्रममा नपर्न र कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन अपिल गरेका छन् ।

पटक-पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएको नेपालको भनाइ छ ।

‘नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्,’ नेता नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पङ्क्ति, न्याय प्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका बेला नेता नेपालले उक्त धारणा सार्वजनिक गरेका हुन् ।

कम्युनिस्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको उनको भनाइ छ ।

नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढ्नुलाई उनले दक्षिणपन्थी विसर्जनवाद, विकृति, अन्याय र विसङ्गतिका विरुद्ध विद्रोह पनि भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस