काँग्रेस क्रियाशील सदस्यता विवाद टुंगियो : छानविन समितिले बुझाए प्रतिवेदन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस क्रियाशील सदस्यता विवाद टुंगियो : छानविन समितिले बुझाए प्रतिवेदन


७ भाद्र २०७८, सोमबार


काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएको छ । सोमबार क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाउन बाँकी समस्या समाधान भएसँगै काँग्रेसमा क्रियाशील सदस्यता विवाद किनारा लागेको हो ।

सोमबार साँझ पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सदस्यता विवाद सुल्झाउँदै सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् । देउवालाई प्रतिवेदन बुझाउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उपस्थित थिए । देउवा निवास बुढानीलकण्ठमा प्रतिवेदन बुझ्दै सभापति देउवाले महाधिवेशन निर्धारित मितिमा हुने बताए ।

छानविन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो । तर छानविन समितिले बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद टुंग्याउने जिम्मा नेतृत्व तहमा पठाएको थियो ।

उक्त विवाद टुङ्ग्याउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समिति बनाइएको थियो । उच्चस्तरीय समितिमा सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकलाई सहयोगीका रूपमा राखिएका थियो ।

साउन ३० को केन्द्रीय कार्यसमिति बैठकले भदौ २ सम्म सहमति गरी भदौ ३ मा सभापतिलाई प्रतिवेदन बुझाउन भनेको थियो । तर तीन नेता सम्मिलित कार्यदलले पाँच दिन ढिलो गरी सहमति जुटाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस