म्याग्दीको दुधेखोलामा भीषण बाढी : एक घर बगायो, ४५ घर जोखिममा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

म्याग्दीको दुधेखोलामा भीषण बाढी : एक घर बगायो, ४५ घर जोखिममा


७ भाद्र २०७८, सोमबार


म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-३ दुधेखोलामा गए राती आएको बाढीले एक घर बगाएको छ भने ४५ घर उच्च जोखिममा परेका छन् ।

बाढीले स्थानीय दीपा पुनको घर बगाउँदा करिब १७ लाख बराबरको क्षति भएको छ । राती ११ बजेपछि आएको बाढीले घरमा क्षति पुर्‍याउन थालेपछि तीन जना परिवार राती नै घर छोडेर आफन्तकोमा सरेकाले मानवीय क्षति भने भएको छैन । बाढीले घरमा रहेका लत्ता कपडा, खाद्यान्न र पशु चौपायासमेत बगाएको छ । स्थानीय नारायण पुनको एउटा दुहुनो भैँसी खोलामा मृत अवस्थामा भेटिएको छ ।

भकिम्लीको लहरेनी र चिनाखेतको सीमानामा पहिरो खसेर दुधेखोलामा मिसिएकोले खोलामा आएको बाढी वस्तीतर्फ सोझिए पछि क्षति भएको बेनी नगरपालिका ३ का वडा सदस्य तथा स्थानीयवासी गेमप्रसाद घर्ती मगरले बताए।

उनका अनुसार दीपा पुनको घर पूर्ण क्षति भएको छ भने स्थानीय नारायण पुन र तिलाराम थापाको घर बस्नै नसकिने गरी उच्च जोखिममा छन् । घर्तीका अनुसार तल्लो र उपल्लो गरी दुई भागमा बाँडिएको गाउँमा ४५ घर परिवारको बसोबास रहेको छ । दुधेखोला र म्याग्दी नदीको कटानका कारण सम्पूर्ण घरपरिवार उच्च जोखिममा रहेका उनले बताए ।

बाढीले दुधेखोलादेखि करिब ८ सय मिटरको दुरीमा रहेको बस्ती कटान गरेको छ । दुधेखोला र कोप्रे खोलाको बिचमा रहेको बस्ती दुवैतिरबाट कटानमा परेकाले असुरक्षित बन्दै गएको उनले बताए ।

बाढीका कारण मंगला गाउँपालिका र बेनी नगरपालिकाका चार वटा वडालाई सदरमुकाम बेनीसंग जोड्ने बेनी–बगरफाँट–सुर्केमेला–बरंजा सडक अवरुद्ध भएको छ । खानेपानीको पाइप बगाएपछि धारामा पानी आएको छैन भने विद्युत् सेवा पनि अवरुद्ध भएको छ । स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ । सुर्केमेलाबाट बेनी ढुवानी हुने दूध र तरकारी पनि ढुवानी हुन सकेको छैन ।

दुधेखोलाको बाढीले म्याग्दी नदी बग्ने ठाउँलाई साँघुरो बनाइदिएको छ । लेदो र ढुङ्गा नदीमा थुप्रिदा तलाउ बनेको छ । जसका कारण म्याग्दी नदीको पारीको बस्ती चुत्रेनी पनि जोखिममा परेको स्थानीयले बताएका छन् ।

स्थानीयवासीहरुले जोखिमयुक्त घरका सामान सुरक्षित रहेका घरमा सारेका छन् । अहिले जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको छ । प्रहरी निरीक्षक नवराज केसीको नेतृत्वमा घटनास्थल पुगेको सुरक्षाकर्मीको टोलीले क्षतिको विवरण सङ्कलन गर्नुका साथै जोखिमयुक्त घरपरिवारका व्यक्ति र सामानहरुलाई सुरक्षित स्थानमा सार्ने प्रहरी निरीक्षक नवराज केसीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस