पुनःनिर्माणले गति लिँदै रातो मच्छिन्द्रनाथ मन्दिर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पुनःनिर्माणले गति लिँदै रातो मच्छिन्द्रनाथ मन्दिर


७ भाद्र २०७८, सोमबार


ललितपुर । विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनः निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ ।

मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको तथा जनचाहना भए पनि विभिन्न चुनौतीका कारण पुनःनिर्माणले गति लिन सकेको थिएन ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य जीवन खड्का, राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमको उपस्थितिमा हालै सम्पन्न बैठकले पुनः निर्माणलाई गति दिने निर्णय गरेको हो ।

पुनः निर्माणका लागि आर्थिक, भौतिक एवं प्राविधिक आवश्यकता जोहो गर्ने प्रतिबद्धता भएको छ । रातो मच्छिन्द्रनाथ मन्दिर पुनः निर्माण उपभोक्ता समिति र पुरातत्त्व विभागले कोभिड–१९ को जोखिमका कारण पुनः निर्माणका लागि काठ, ढुङ्गा समयमै उपलब्ध हुन नसकेको जनाउँदै आएको छ ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले ललितपुर महानगरपालिका–२२ स्थित बुङ्गमतीस्थित मच्छिन्द्रनाथको मन्दिरमा क्षति पुगेको थियो । यस मन्दिरको पुनः निर्माणको शिलान्यास भूकम्प गएकै वर्षको माघ २ गते गरिएको थियो । पुनः निर्माण सुरुआत भएको छ वर्ष पुग्दा पनि सम्पन्न भएको छैन ।

स्थानीय सामग्री अभाव, कामदारको आपूर्ति हुन नसक्ने अवस्था, दक्ष कामदार पाउन कठिन, निर्धारित ज्यालामा कामदार नपाउने अवस्था, प्राविधिक अन्योलतालगायत समस्या देखा परेका छन् । त्यसो त यस मन्दिरको पुनः निर्माण विशिष्ट प्रकारको भएकाले पनि चुनौती भोग्नुपरेको उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्य बताउँछन् ।

पछिल्लो बैठकपछि पुनःनिर्माणले गति लिने विश्वास गर्दै अध्यक्ष शाक्य भन्छन्, ‘सबै सरोकार निकायले पुनः निर्माणलाई गति दिने प्रतिबद्धता व्यक्त गरिएको छ । अब अर्को जात्राका अवसरमा काम पूरा हुनेछ ।’ उनले थप रकम उपलब्ध नहुँदासम्म पुनः निर्माणको कामले गति लिन नसक्ने बताए । बैठकमा मन्त्री भुसालले आम जनताको आस्था रहेको मच्छिन्द्रनाथको मन्दिर पुनः निर्माणका लागि सहयोग सङ्कलन गर्ने र राज्यका निकायबाट प्राप्त हुन आर्थिक एवं प्राविधिक सहयोगलाई एकीकृत गर्ने बताइन् । मन्दिरको पुनः निर्माणका लागि आर्थिक एवं अन्य सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मन्दिर परिसर निर्माणका लागिसमेत ध्यान दिनुपर्नेमा जाड दिइन्।

प्रदेशसभा सदस्य खड्काले प्रदेश सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन आफूले सक्दो पहल गर्ने बताए। त्यस्तै पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रविधिकरणले उपलब्ध गराउन सकिने प्राविधिक एवं आर्थिक सहयोग दिने वाचा गरे। महानगर प्रमुख महर्जनले जनता र राज्यको सहयोगबाट पुनः निर्माणका काम धेरै सम्पन्न भएको उल्लेख गर्दै सोहीअनुसार पुनः निर्माणका काम पूरा गर्नुपर्ने बताए ।

पुरातत्त्व विभागका महानिर्देशक गौतमले पुनः निर्माणको कार्यलाई गति दिने विश्वास दिलाए । विभागको समन्वयमा भएका गतिविधिबारे जानकारी गराउँदै आगामीमा दिनमा पुनः निर्माणका कार्यलाई थप केन्द्रित गर्ने दृढता व्यक्त गरे। पुनः निर्माणका लागि आवश्यक पर्ने कलात्मक इँटा महँगो हुने गरेको छ । स्थानीय कच्चा पदार्थबाट एउटा इँटा निर्माणका लागि रु नौ हजार ८५० सम्म लाग्ने देखिएको छ । मन्दिरको परम्परागत स्वरूपलाई कायम गर्नका लागि चुनौती भएको स्थानीय जानकारको भनाइ छ । उक्त मन्दिरमा तीन दर्जनभन्दा बढी साना ठुला विभिन्न आकार र डिजाइनका इँटा प्रयोग भएको छ । त्यसले गर्दा पनि कामले गति लिन सकेको छैन ।

मन्दिर पुनः निर्माण पूरा गर्नका लागि सरकारले रु तीन करोड आठ लाख बजेट विनियोजन गरेको थियो । पुरातत्त्वको महत्त्वअनुसार निर्माण गर्ने हो भने थप रु तीन करोडभन्दा बढी बजेट आवश्यक पर्ने जानकारले बताएका छन् । मन्दिरको पुनः निर्माण निकै कठिन भएको जनाउँदै कार्यकारी अधिकृत ज्ञवालीले पुनः निर्माणको लागत एवं प्राविधिक रुपमै पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

पुनः निर्माणका लागि विनियोजन गरिएको बजेटले काम सम्पन्न हुन नसक्ने देखिएको छ । हालसम्म काम गर्ने टहरा निर्माण, पहिलो चरणको काम सुधार्ने र ढोका मर्मत तथा जडान, काठको काम, ढुङ्गाका खम्बा तयारी एवं जडान गरिएको छ । त्यसै गरी गजुरको काम, घण्टा जडान, चारै दिशामा सिंहको जोडी राख्ने कार्य सबै बाँकी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस