काँग्रेस क्रियाशील सदस्यता विवाद समाधान समितिले देउवालाई आज साँझ प्रतिवेदन बुझाउने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काँग्रेस क्रियाशील सदस्यता विवाद समाधान समितिले देउवालाई आज साँझ प्रतिवेदन बुझाउने


७ भाद्र २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज (सोमबार) बुझाउँदै छ । प्रतिवेदन अपराह्न ५ बजेभित्र बुझाउने समितिको तयारी छ ।

क्रियाशील सदस्यताको विवाद टुङ्गो लगाउन गठित नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले विवाद समाधान गरेको हो ।

समिति सदस्य रमेश लेखकका अनुसार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासित समय माग गरिएको छ । ‘आज त बुझाउनै भनेका छौँ,’ लेखकले भने, ‘हिजो केही विषयमा मिलेको थिएन, अहिले लगभग सहमति बनेको छ ।’

पार्टी मुख्यसचिव पौडेलका अनुसार समितिले अपराह्न ५ बजेसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ । ‘हिजो जनै पूर्णिमा पर्व पनि पर्‍यो, केही विषयमा विवाद पनि थियो,’ उनले भने, ‘आज साँझ ५ बजेपछि प्रतिवेदन बुझाउने कुरा छ ।’

बारा, सप्तरीलगायत छ जिल्लाका १३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको विवाद थियो ।

काँग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्य तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस