जापानबाट ६ लाख डोज खोप काठमाडौँ आइपुग्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जापानबाट ६ लाख डोज खोप काठमाडौँ आइपुग्दै


७ भाद्र २०७८, सोमबार


काठमाडौँ । नेपाललाई जापान सरकारले अनुदानमा उपलब्ध गराएको मध्ये आज (सोमबार) बाँकी करिब ६ लाख डोज खोप काठमाडौँ आइपुग्दै छ ।

खोप बिहान साढे ९ बजे कतार एयरवेजको विमानमार्फत आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुगानाले जानकारी दिएका छन् ।

सोमबार उक्त खोप ल्याएपछि जापान सरकारले सहयोग गरेको सबै १६ लाख डोज खोप नेपाल आइपुग्नेछ ।

यसअघि शनिबार २ लाख डोज खोप ल्याइएको थियो । यस्तै‚ साउन २३ र २४ गते ८ लाख डोज खोप काठमाडौँ आइपुगेको थियो ।

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख १४ हजार ७४० डोज अस्ट्राजेनेका खोप सहयोग गरेको हो । प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १ करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको छ ।

सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ । अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ जनाले पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस