काबुल विमानस्थलमा इस्लामिक स्टेटको आक्रमण हुन सक्ने अमेरिकाको चेतावनी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काबुल विमानस्थलमा इस्लामिक स्टेटको आक्रमण हुन सक्ने अमेरिकाको चेतावनी


६ भाद्र २०७८, आइतबार


काठमाडौँ। अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई इस्लामिक स्टेटबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन चेतावनी दिएको छ ।

काबुल विमानस्थल बाहिर बढ्दै गएको अराजकताका बिच गए राती अफगानिस्तानमा रहेका अमेरिकीहरुका लागि सुरक्षा सल्लाह जारी गर्दै अमेकिाले अफगानिस्तानस्थित आइएसको शाखाबाट काबुल विमानस्थलमा रहेका अमेरिकीहरुमाथि आक्रमण हुनसक्ने भन्दै सचेत गराएको हो ।

विशेष गरी विमानस्थलको गेट बाहिर रहेका अमेरिकीहरु आइएसको निशानामा पर्न सक्ने चेतावनी दिइएको छ । यस्तै अमेरिकी सरकारको प्रतिनिधित्व गर्ने व्यक्ति तथा संस्थाहरुलाई पनि सचेत गराइएको छ ।

अहिलेसम्म सार्वजनिक रुपमा कतैबाट आक्रमणको चेतावनी नआए पनि अमेरिकाले सम्भावित खतराप्रति सचेत गराएको विश्लेषण गरिएको छ ।

तालिवानको त्रासले अफगानिस्तान छाड्न चाहनेदेखि त्यहाँको पूर्ववर्ती सरकारसँग काम गरेका तथा नेटो गठबन्धनलाई सघाएका मानिसहरुको भीड विमानस्थल बाहिर थामिनसक्नु बढेको छ । शनिबार विमानस्थल बाहिर उर्लेको भीडलाई अहिलेसम्मकै खराब दिन भनिएको छ ।

२ हजार ५ सय अमेरिकीसहित अहिलेसम्म १७ हजार जनालाई अफगानिस्तान बाहिर पुर्‍याइएको पनि अमेरिकी भनाइ छ ।

जर्मन सरकारले पनि काबुल विमानस्थलको सुरक्षा अवस्था भयङ्कर खतरनाक अवस्थामा रहेको भन्दै विमानस्थलमा प्रवेश गर्ने कुरा सम्भव नरहेको बताएको छ ।

यस्तै स्विस विदेश मन्त्रालयले पनि पछिल्ला घण्टाहरुमा काबुल विमानस्थलको सुरक्षा अवस्था बिग्रिएको बताएको छ ।

तालिवानले काबुलमा कब्जा जमाए पनि काबुल विमानस्थल अहिलेसम्म अमेरिकी फौजको नियन्त्रणमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस