कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वातावरण बनाउन ध्यानाकर्षण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वातावरण बनाउन ध्यानाकर्षण


४ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । शुक्रबार प्रतिनिधिसभाका सांसदहरुले कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीय संसद् प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा बोल्दै समितिका सदस्यहरुले दुई दुई पटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका हुन् ।

सांसद जयपुरी घर्तीमगरले विना विकल्प कक्षा १२ को परीक्षा स्थगित गरेर सरकारले गम्भीर गल्ती गरेको बताएकी छन्।

समितिका सभापति समेत रहेकी मगरले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न समितिले दिएको निर्देशन किन पालना नगरेको ? भनी सरकारलाई प्रश्न समेत गरिन् ।

समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले कक्षा १२ को परीक्षा पटक पटक रोक्ने काम नगर्न सरकारलाई सचेत गराए । उनले विद्यार्थीहरुलाई आतङ्कित पार्ने गरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा सङ्कट व्यवस्थापन (सिसीएमसी)ले भूमिका खेलेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

समितिका अर्का सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चाँडोभन्दा चाँडो कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराए । उनले परीक्षा सञ्चालनका लागि विद्यार्थीहरुलाई तत्काल आवश्यक कोरोना खोपको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सचेत गराए ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले सिसिएमसीले दिएको निर्देशनका कारण कक्षा १२ को परीक्षा स्थगित गर्नु परेको स्पष्टीकरण समितिमा दिए । उनले आफूहरु चरणबद्ध रुपमा भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्न तयार रहे पनि कोरोनाका कारण त्यसबाट पछि हट्ने परिस्थिति आएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस