धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई कारबाही गर्न सांसदको माग « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई कारबाही गर्न सांसदको माग


४ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । शेयर बजारमा भएको इन्साइडर ट्रेडिङको विषयमा बहालवाला वा पूर्व न्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउन सांसदहरूले माग गरेका छन् ।

शुक्रबार (आज) संसदको अर्थसमितिमा सहभागी सांसदहरूले अर्थमन्त्री जनार्दन शर्मासँग उक्त माग राखेका हुन् ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उच्चस्तरीय समिति बनाएर छानबिन हुनुपर्ने बताएका छन् ।

यस्तै सांसद रामबहादुर यादवले व्यक्ति दोषी देखिएको भन्दै तत्काल निलम्बन गरेर छानबिन हुनुपर्ने बताए । सर्वोत्तम सिमेन्टको सेयर नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको छोरीको नाममा किनेको पाइएको छ ।

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि श्रीमतीको नाममा सेयर किनेका छन् । नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै सांसदहरूले छानबिन भएर दोषीमाथि कडा हुनुपर्नेमा जोड दिएका छन् ।

सांसद सत्या पहाडीले पूर्व सरकारले गरेका नियुक्तिहरुमा कमजोरी रहेको र अन्य पनि विस्तारै खुल्दै जाने बताइन् । दोषीलाई कारबाही हुनु पर्ने उनको माग रहेको छ ।

सांसद रामकुमारी झाक्रीले बोर्डका कर्माचारीहरुले नै धितोपत्र बोर्ड अध्यक्षका विषयमा धेरै प्रश्न उठाएकाले यसलाई सामान्य रुपमा लिन नहुने बताउँदै यसमा संलग्नलाई तत्कालै निलम्बन गरी छानबिन गर्न भनेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस