अफगानिस्तानबाट २८८ नेपालीको उद्धार गरियो : परराष्ट्र मन्त्रालय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अफगानिस्तानबाट २८८ नेपालीको उद्धार गरियो : परराष्ट्र मन्त्रालय


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ । सरकारले अफगानिस्तानमा रहेका २८८ नेपालीहरूको उद्धार गरेर काठमाडौँ ल्याएको छ । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै अलपत्र परेका नेपालीहरूको उद्धार कार्यमा लागेको सरकारले भदौ २ गतेसम्म २८८ जनाको उद्धार गरी नेपाल पुर्‍याइसकेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भदौ १ गते बिहान ११८ जना, राति ८४ जना र भदौ २ गते बिहान ६१ जना र राति २५ जनाको उद्धार गरिएको हो । थप नेपालीको पनि उद्धार जारी राखिने मन्त्रालयले जनाएको छ । हालसम्म उद्धार गरिएकाहरूलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा राखिएको छ । स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ ।

बुधवार साँझ ५ बजेसम्म २९६ जना नेपालीहरूले मन्त्रालयको कन्सुलर सेवा विभागको वेब पोर्टलमा आफ्नो विवरण दर्ता गराएको र दर्ता भएकाहरू मध्ये १६ जनाको उद्धार भई नेपाल आइसकेको मन्त्रालयले जनाएको छ ।

यसैगरी अफगानिस्तानमा उद्धारको पर्खाइमा रहेका नेपालीहरूले काबुलमा रहेका सुरेश चन्द्र शर्मालाई ९३७८७८४५९९४ नम्बरमा भाइबर वा ह्वाट्सएप मार्फत सम्पर्क गर्न पनि भनिएको छ ।

साथै भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरू ९७७ ९७४९३२६४५८, ९७७ ९७४९३२६४५९, ९७७ ९८४१७९२७७४ र ९१ ८९२९६०१९२५ मा विवरण टिपाउन भनिएको छ ।

कन्सुलर सेवा विभागको वेबसाइट nepalconsular.gov.np   मा नाम दर्ता नगराएका अफगानिस्तानमा रहेका नेपालीहरूले आफै वा उनीहरूको परिवारलाई नाम दर्ता र विवरण दर्ता गराउन पनि सरकारले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस