उपत्यकाका सिडिओका लागि दौडधुप तीव्र, कसले मार्ला बाजी ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपत्यकाका सिडिओका लागि दौडधुप तीव्र, कसले मार्ला बाजी ?


२ भाद्र २०७८, बुधबार


काठमाडौँ । उपत्यकाका जिल्लाको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)का लागि दौडधुप सुरु भएको छ । गृह मन्त्रालयले सिडिओको सरुवा गर्ने तयारी गरिरहँदा उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको सिडिओका लागि सहसचिवहरू दौड्न थालेका हुन् ।

महत्त्वपूर्ण र शक्तिशाली मानिने काठमाडौँका लागि गृह मन्त्रालय सहसचिव तथा कर्मचारी प्रशासन महाशाखा प्रमुख गोविन्द रिजाल, श्रम मन्त्रालयका सहसचिव विनोद सिंह, गृहकै शान्ति सुरक्षा महाशाखा प्रमुख फणीन्द्र पोखरेलको दाबेदार रहँदै आएको छ ।

गृह उच्च स्रोतका अनुसार गृहका क्याडरहरूमध्ये सबैलाई मिलाएर अघि बढ्न सक्ने र प्रशासनिक निर्णयमा अब्बल मानिएकालाई नै पठाउँदा विवाद नआउने भएकोले भौगोलिक तथा महत्त्वपूर्ण जिल्लाको अनुभव सम्हाली सकेका उपयुक्त सहसचिवलाई नै काठमाडौँ पठाउन लागिएको हो । साथै अबको सिडिओले नै स्थानीय तहको समेत निर्वाचन गराउने भएकोले समन्वयात्मक र विवादमा नआएकालाई पठाउने तयारी सरकारको छ ।

त्यसैगरी ललितपुर जिल्लाको प्रजिअका लागि मन्त्रालयकै अर्का वरिष्ठ सहसचिव घनश्याम उपाध्याय, हुमकला पाण्डे, तीर्थ भट्टराई र यज्ञ कोइरालाको चर्चा छ ।

यसैगरी काठमाडौँ र ललितपुर पछिको मिलानमा भक्तपुर पर्नेछ । भक्तपुरमा ऋषि तिवारी, शम्भु मरासिनी, प्रेम भट्टराई, दीपक काफ्लेमध्येबाट एक जनाले बाजी मार्ने सम्भावना रहेको मन्त्रालय स्रोत जनाउँछ ।

ती स्रोतका अनुसार गृहमा आउने सहसचिव र उपसचिवको सङ्ख्या ठुलै छ । अबको सरुवामा १५ देखि २० जना सहसचिवहरू र ४० देखि ५० जना उपसचिवहरू गृह मन्त्रालयमा आउन खोजिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस